वडाबाटै हुन्छ किर्ते
किर्ते बिल र भर्पाइ बनाएर गाविस सचिव, कर्मचारी र दलका प्रतिनिधि मिलेर गाविसको बजेट हिनामिना गर्दै आए पनि कारबाही भएको छैन।
आ.व. २०७०/७१ मा विनियोजित बजेटमध्ये पाँचथरको नवमीडाँडा गाविसले कृषि शीर्षकमा रु.१ लाख १४ हजार ३१० पायो। स्थानीय राजनीतिक दलका प्रतिनिधिले गाउँ परिषद्मार्फत रकमान्तर गरेर सामुदायिक प्रजनन (पशु) नश्ल सुधारमा रु.६० हजार, खानेपानीमा रु.७० हजार र स्वास्थ्यमा रु.२४ हजार खर्च गर्ने निर्णय गरे।
असार मसान्तसम्म काम गर्न नसकेपछि पेश्की लिएका गोपाल घिमिरेले सामुदायिक प्रजनन नश्ल सुधार शीर्षकको रु.६० हजार गाविस सचिव भेषराज दाहाललाई फिर्ता गरेको बताउँछन्। नगदै पाएका गाविस सचिव दाहालले गाविसको खातामा जम्मा नगरी योजना फर्स्योट गरेको कागजात मिलाए। त्यस्तै नश्ल सुधारका लागि सामग्री खरीद गर्न छुट्याइएको रु.२ लाख ९४ हजार ३१० पनि पेश्की निकालेका गाविस सचिव दाहालले सामग्री खरीद नगरी किर्ते बिल भर्पाइ बनाएर खर्च भएको देखाए।
नवमीडाँडाकै वडा नं. १, ४, ५, ८ र ९ मा विद्युतीकरण गर्न गाउँ परिषद्ले रु.२ लाख ३३ हजार १७२ विनियोजन गर्यो। स्थानीय बासिन्दाले बजेट विनियोजन हुनु अगावै पूर्वाधार तयार गरिसकेका थिए। त्यसपछि गाविस सचिव दाहालले गाउँ परिषद्ले विनियोजन गरेको रकम भुक्तानी नगरेको स्थानीयहरू बताउँछन्।
आ.व. २०७०/७१ को बजेटबाट गाविसले विद्युत् लाइन विस्तारका लागि रु.२ लाखमा ट्रान्सफर्मर खरीद गर्यो। ट्रान्सफर्मर खरीदका लागि नै आ.व. २०७२/७३ मा पनि पाँचथर क्षेत्र नं. २ का सांसद् भीष्मराज आङदेम्बेले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत रु.२ लाख निकासा गरे। एकै ठाउँका लागि ट्रान्सफर्मर खरीद गर्न दुई पटक रकम निकासा भए पनि त्यहाँ एउटै ट्रान्सफर्मर छ। निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि गाविसले किनेकै ट्रान्सफर्मरको बिल देखाएर फरफारक गरिएको छ।
सदरमुकाम फिदिमसँगै जोडिएको नवमीडाँडा गाविसमा प्रजनन नश्ल सुधार र विद्युतीकरणसँगै अन्य कार्यक्रमका लागि छुट्याएको बजेट पनि हिनामिना गरिएको 'भ्रष्टाचार विरुद्ध युवा' नामक अभियान चलाइरहेका राजकुमार आङदेम्बे बताउँछन्। उनका अनुसार महिला, बालबालिका र कृषिका लागि छुट्याएको बजेटमा पनि अनियमितता भएको छ।
किर्ते बिल र भर्पाइ बनाएर आ.व. २०७१/७२ मा प्रजनन नश्ल सुधार शीर्षकमा छुट्याएको रु.१ लाख ९१ हजार १६६ हिनामिना गरिएको उनीहरू बताउँछन्। नवमीडाँडा–६ का होमप्रसाद आङदेम्बे अध्यक्ष, नवमीडाँडा–१ का छविरमण हुमागाई सचिव र नवमीडाँडा–७ का गोविन्दप्रसाद न्यौपाने कोषाध्यक्ष रहेको उपभोक्ता समिति बनाएको देखाइएको छ। गाविस सचिव दाहालले समितिका तीनै जनासँग मिलेर किर्ते बिल र भर्पाइ बनाई अनियमितता गरेका हुन्। उनीहरूले राँगा, बीउ, सुँगुर खरीद गरी नश्ल सुधारका लागि उपलब्ध गराइएको भनेर रु.६० हजारको भर्पाइ (हे.तस्वीर) गराइएका नवमीडाँडा–९ का राम आङदेम्बे कहीं कतैबाट केही नपाएको बताउँछन्।
त्यस्तै जिल्ला परिषद्बाट आ.व.२०७१/७२ मा विद्युतीकरणका लागि विनियोजन गरिएको नवमीडाँडा वडा नं. १, ४ र ५ को रु.२ लाख १३ हजार २३ र वडा नं. ६, ८ र ९ को रु.२ लाख फर्स्योट गरिएको छैन। आ.व. २०७२/७३ को महिला तथा बालबालिका शीर्षक अन्तर्गत विनियोजित रकम लक्षित क्षेेत्रमा खर्च नगरी हिनामिना भएकोे, जिविस र नेपाल विद्युत् प्राधिकरणबाट अनुदानमा प्राप्त बिजुलीका पोलको नक्कली बिल बनाएर खरीद नै नगरी हिनामिना गरिएको राजकुमारको आरोप छ।
गाविस सचिव दाहाल आरोप 'मिथ्या' भएको जनाउँदै परिषद्बाट विनियोजन भएको रकम सम्बन्धित शीर्षकमै खर्च गरेको दाबी गर्छन्। खर्च नभएर फिर्ता आएको रकम पनि आफूले नबुझेको बताउने उनी नश्ल सुधार शीर्षकमा विनियोजन गरेको रकम पनि गाविसस्तरीय कृषि समितिलाई हस्तान्तरण गरेको बताउँछन्।
गाविस स्तरीय कृषि समितिका अध्यक्ष होमप्रसाद आङदेम्बे भने परिषद्ले छुट्याएको रकम बिल भर्पाइ मिलाएर फर्स्योट गरेको स्वीकार्दै सर्वदलीय सहमतिमा विकास निर्माणमा खर्च गरिएको बताउँछन्। उनी भन्छन्, “बिल भर्पाइ मिलाएर फर्स्योट गरे पनि नश्ल सुधार र कृषि शीर्षकको बजेट दुरुपयोग भएको छैन। अर्कै काममा प्रयोग भएको छ।” तर सो रकम खर्र्च भएको काम भने स्मरणमा नरहेको उनको जवाफ छ।
पाँचथरका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमला 'स्थानीय स्रोत परिचालन निर्देशिका–२०६९' ले गाविसलाई बजेट बाँडफाँड गर्ने अख्तियारी दिए पनि कुनै एउटा शीर्षकमा छुट्टिएको बजेटलाई रकमान्तर गर्न नमिल्ने बताउँछन। बजेट रकमान्तर गरेर खर्च गर्ने परिषद्को निर्णय त्रुटिपूर्ण रहेको जनाउँदै अनियमितताका विषयमा जानकारी हुनासाथ योजना अधिकृत निमेश कोइरालाको संयोजकत्वमा छानबीन समिति गठन गरेको उनी बताउँछन्।
भ्रष्टाचार विरुद्धको अभियानमा लागेका युवा अनियमितता भएको प्रमाणसहित प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरे पनि छानबीन नभएको गुनासो गर्छन्। अभियानका क्रममा गत तीन वर्षमा नवमीडाँडा गाविसमा मात्रै रु.४० लाख भन्दा बढी रकम दुरुपयोग भएको पाएको राजकुमार बताउँछन्।
लक्ष्मी गौतम, पाँचथर