समाचारबिहिबार, २० पौष , २०७४

भरतपुर महानगरलाई गुट्खामुक्त पार्न माग गर्दै प्रदर्शन

हिमालखबर

खैनी, सूर्ती, गुट्खा कारण मानव स्वास्थ्यमा नकारात्मक असर हुने र यत्रतत्र फोहर समेत देखिने गरेको भन्दै स्थानीयवासीले गुट्खामुक्त गर्न माग गर्दै आज दबाबमूलक कार्यक्रम गरेका छन् । 

भरतपुर महानगरपालिकाको भोलि शुक्रबार हुन लागेको नगरपरिषद्बाट उक्त अभियान घोषणाको माग गर्दै स्थानीयवासीले आज भरतपुरमा प्रदर्शन गर्दै दबाब र्‍यालीसमेत निकालेका हुन् । 

फेसबुकबाट गठित ‘वे ग्रुप’ नामक संस्थाको संयोजन तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा नगरपालिका अगाडि प्लेकार्डसहित स्थानीयवासीले प्रदर्शनसमेत गरे । 

सरसफाइ अभियानमा लागेका अभियन्ता भोजनारायण कँडेलले प्लास्टिकजन्य फोहरमध्ये गुट् खाएर जथाभावी फ्याँकिने गरेकाले गुट्खा प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने बताए  । 

नारायणगढको लायन्सचोकबाट शुरु भएको दबाब र्‍याली शहीदचोक, पुल्चोक घुमेर भरतपुर महानगरपालिका अगाडि आई सभामा परिणत भएको थियो । 

सभामा उद्योग वाणिज्य संघका जिल्लाअध्यक्ष राजन गौतमले गुट्खाले स्वास्थ्यमा समेत असर पार्ने भन्दै यो अभियानलाई प्रभावकारी गराउनुपर्नेमा जोड दिए  । जिल्लालाई गुट्खामुक्त घोषणा नगरेसम्म आफू अभियानमा लागिरहने गौतमले बताए । 

यसअघि उक्त समूहले गुट्खामुक्त गर्न दबाबस्वरुप हस्ताक्षर अभियान चलाएर स्थानीय प्रशासनलाई समेत बुझाएको थियो । गुट्खाले मानव स्वास्थ्यमा समेत असर गर्ने भएकाले  आफ्नो ध्यान यसतर्फ तानिएको भरतपुरका अर्का अभियन्ता तथा नेपालमैत्री समाज जिल्लाअध्यक्ष विरेन्द्र पौडेलले बताए । 

सरसफाइका क्रममा गुट्खा खाएर फालिएका प्लास्टिकको फोहर अत्यधिक भएकाले यस्ता फोहर नियन्त्रण आवश्यक हुने सहभागीको भनाइ छ । 

मानव स्वास्थ्यमा असर गर्ने, जथाभावी फालिएकाले फोहर संकलन गर्न पनि गाह्रो हुने र पुनः प्रयोग पनि गर्न नसकिने भएकाले गुट्खा प्रतिबन्ध गर्नुपर्ने माग गर्दै उनीहरुले आज नगरपालिकाको ध्यानाकर्षणसमेत गराएका थिए । 
रासस

प्रतिकृया दिनुहोस