समाचारबुधबार, १९ पौष , २०७४

तनहुँ २ (क) को मतगणना मुचुल्का र मतपत्र झिकाउन सर्वोच्चको आदेश

हिमालखबर

सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नं २ प्रदेश (क) मा मतगणनाका सबै मुचुल्का, मतपत्रलगायतका कागजात झिकाउन आदेश दिएको छ । 

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले आज प्रदेश (क) मा निर्वाचनका समयमा प्रयोग भएका मुलुल्का र मतपत्र झिकाउने आदेश दिएको हो । 

यसअघि पुस ७ गतेको सुनुवाइमा अदालतले निर्वाचन आयोग र उम्मेदवार दुवैलाई छलफलका लागि बोलाएको थियो । 

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा मतगणनाका क्रममा धाँधली भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । पौडेल माओवादी केन्द्रकी उम्मेदवार आशा कोइरालासँग पाँच मतको अन्तरले पराजित भएका थिए । 

धनुषा-३ का पनि कागजात मगाइयो
त्यसैगरी, धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभाका उम्मेदवार रामसिंह यादवले निर्वाचन आचार संहिताविपरीत धाँधलीपूर्ण तरिकाले निर्वाचनको दिन नै सञ्चारमाध्यममा प्रचार गराएको भन्ने मुद्दामा संवैधानिक इजलासले सञ्चारमाध्यममा प्रयोग भएको समाचार र विज्ञापन इजलासमा झिकाउन आदेश दिएको छ । 

यादवले धाँधलीपूर्ण तरिकाले मतदान भएको हुँदा सो क्षेत्रको निर्वाचन नै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दाको सुनुवाइपछि आज यस्तो आदेश दिइएको हो ।
रासस

 

प्रतिकृया दिनुहोस