नयाँ वर्षका दिन तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान
संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ ।
यसरी जन्मेकामध्ये ९० प्रतिशतभन्दा बढी कम विकसित देशका रहेको सो संस्थाले जनाएको छ ।
युनिसेफका अनुसार आधाभन्दा बढी ती शिशुको जन्म नौ वटा राष्ट्र (भारत, चीन, नाइजेरिया पाकिस्तान, इन्डोनेसिया, अमेरिका, कङ्गो, इथोपिया र बङ्गलादेश) मा भएको हो ।
यी शिशुमध्ये केहीको दुर्भाग्यबस जन्मेको २४ घन्टाभित्रै मृत्यु हुने गरेको छ । सन् २०१६ को एक तथ्याङ्कअनुसार जन्मेको २४ घण्टाभित्रै दुई हजार ६०० बालबालिकाको मृत्यु भएको थियो ।
युनिसेफका अनुसार विश्वमा करिब २० लाख बालबालिकाको जन्मेको एक हप्ताभित्रै मृत्यु हुने गरेको पनि सो संस्थाले दिएको समाचारमा उल्लेख छ ।
त्यसैगरी २६ लाख बालबालिकाले आफ्नो जन्मपछिको अर्को महिना देख्न पाउने गरेका छैनन् । तर पनि विगत दुई दशकयता भने बालबालिकाको मृत्यु दरमा केही मात्रामा कमि आएको देखिएको छ ।
रासस