समाचार विहीबार, साउन २०, २०७३

प्रधानमन्त्री दाहालद्वारा शपथ ग्रहण

हिमालखबर

तस्वीर: रासस

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । दाहालले देश र जनताका नाममा शपथ लिए । 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, पूर्व प्रधानमन्त्री, उपप्रधानमन्त्री, पूर्व उपराष्ट्रपति एवम् मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी व्यवसायीलगायत उपस्थित थिए । 

शपथ ग्रहण समारोहपछि प्रधानमन्त्री दाहालको सम्मानमा राष्ट्रपति भण्डारीले शीतल निवास परिसरमा चियापानको आयोजना गरेकी थिइन् । 

व्यवस्थापिका–संसद्मा बुधबार भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

मन्त्रीहरुको शपथ
यस्तै राष्ट्रपति भण्डारीले आजै उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा मन्त्रीत्रय रमेश लेखक, गौरीशङ्कर चौधरी र दलजीत श्रीपालीलाई मन्त्री पद तथा गोपनीयताको शपथ गराइन् ।

प्रतिकृया दिनुहोस