खोटाङका दशवटै स्थानीय तह सडक सञ्जालमा जोडिए
खोटाङका दशवटै स्थानीय तह सडक सञ्जालले जोडिएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तह सडक सञ्जालमा जोडिएका हुन् ।
दूधकोशीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएपछि खोटाङ राजधानी काठमाडौंलगायत अन्य जिल्लासँग सिधा सडक सञ्जालमा जोडिएको छ ।
खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारदेखि छिमेकी जिल्ला भोजपुरसम्म सिधा यातायात सेवा सञ्चालन गरिएको छ ।
दुईवटा राष्ट्रिय राजमार्गले छोएको खोटाङमा हालसम्म सबै सडक कच्ची अवस्थामै छन् ।
मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडक खण्डमा अहिले कालोपत्रेको काम भइरहेको छ । तराईका जिल्ला जोड्ने सगरमाथा राष्ट्रिय राजमार्गको महुरे–फोक्सिङ्टार खण्डमा पनि कालोपत्रेको काम थालिएको छ । रासस