अस्पतालमा सुधारको माग गर्दै मानव साङ्लो
उपक्षेत्रीय अस्पताल, वीरगञ्जमा समग्र सुधारको माग गर्दै सदभावना पार्टी वीरगञ्जको आह्वानमा मानव साङ्लो प्रदर्शन गरेको छ ।
वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको सुधार, विकास र स्तरोन्न्तीका लागि दबाब दिने उदेश्यले मानव साङ्लो प्रदर्शन गरिएको सदभावना पार्टी वीरगञ्ज नगर कार्यसमितिका अध्यक्ष ओम प्रकाश सर्राफले बताए ।
अस्पतालको मुल गेटदेखि वीर्ता मन्दिर चोकसम्मको सडकमा मानव हातमा हात जोडेर उभिएका स्थानीयले अस्पतालमा समग्र सुधारको माग गरे ।
बिहान पौने आठ बजे देखि पौने नौ बजे सम्म एक घण्टा सम्म भएको प्रदर्शनमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, स्थानीय समाजसेवी, विद्यार्थी लगायतको सहभागिता थियो ।
अस्पतालको उपचार सेवामा सुधार, आर्थिक अनियमितता नियन्त्रण लगायतका माग राखेर अस्पताल प्रशासन र अस्पताल विकास समितिको पटक पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि सांकेतिक विरोध प्रदर्शन गरिएको सर्राफले बताए ।