सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल शुरु (तस्वीरहरु)
सगरमाथा क्षेत्रमा तीन वर्षदेखि खस्किएको पर्यटक आगमन यसवर्ष असोज महिना लागेसँगै बढ्दो छ ।
हिमपहिरो, भूकम्प लगायतका कारण लगातार तीन वर्षसम्म घटेको पर्यटक संख्या यसवर्ष भने असोजको शुरुवात देखि नै उल्लेख्य देखिएको स्थानीय पर्यटन व्यवसायीहरु बताउँछन् ।
पर्यटकीय क्षेत्र चौंरीखर्कको लुक्ला बजार, फाक्दिङ, जोरसल्ले क्षेत्रमा विदेशी पर्यटकहरुको आवतजावत बढेको जोरसल्लेका होटल व्यवसायी दावाजाङ्मु शेर्पाले बताए ।
त्यसैगरी नाम्चेको नाम्चेबजार, ठमो, थामे, थामेतेङ लगायतका क्षेत्रमा पनि पर्यटकहरु गत तीन वर्षको तुलनामा बढी आएका छन् ।
उता खुम्जुङकोे ग्रीनभ्याली, फोर्चे, मछेर्मो, गोक्यो, ठाङनाक, जोङला, स्याङबोचे, पाङबोचे, दिङबुचे, फेरिचे, छुकुङ, लबुचे र गोरक्सेपमा पनि गत वर्षभन्दा धेरै पर्यटकहरु आएको होटल जोङ्ला ईनका प्रोपाइटर आङनुरु शेर्पाले बताए ।
पर्यटकीय सिजनको सबैभन्दा उत्तम सिजन मानिएको अटममा सगरमाथा क्षेत्रमा सबैभन्दा बढी पर्यटकहरु आउने भएपनि भूकम्पले गर्दा अघिल्लो वर्ष पर्यटक कम थिए ।
अहिले काठमाडौंबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा दैनिक १ सय देखि १५० जनासम्म पर्यटकहरु ओर्लिरहेका छन् ।
त्यसैगरी दोलखाको जीरी हुँदै दैनिक १५ देखि २० जनासम्म पर्यटकहरु पैदल यसक्षेत्रको भ्रमणमा आइरहेका छन् ।
भूकम्पपछि तङ्ग्रीदै गरेको सगरमाथा क्षेत्रको पर्यटन व्यवसाय अघिल्लो वर्षभन्दा यस वर्ष सन्तोषजनक रहने स्थानीय पर्यटन व्यवसायीको भनाई छ ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु