संविधानको कार्यान्वयन र देशको विकासका लागि प्रेसको भूमिका सहयोगी: राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिता क्षेत्रले मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक रुपान्तरणमा सकारात्मक भूमिका निर्वाह गरेको बताएकी छन् ।
शीतल निवासमा आज आयोजित प्रेस काउन्सिल नेपालको ४७औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सञ्चारमाध्यमलाई राष्ट्र, समाज र नागरिकप्रति थप जिम्मेवार एवम् उत्तरदायी बनाउनु पर्नेमा जोड दिइन् ।
समाजमा अत्यन्त जागरुक र राष्ट्रको समष्टिगत विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना सम्पे्रषण गर्ने अहम् दायित्व बोकेको पत्रकारिता क्षेत्र राज्यको चौथो अङ्गका रुपमा रहेको उल्लेख गर्दै उनले पत्रकारिता पेसालाई थप जिम्मेवार र उत्तरदायी बनाउनुपर्ने धारणा व्यक्त गरिन् ।
उनले पत्रकारिता पेसाका मूल्य तथा मान्यतालाई आत्मसात् गरी लोककल्याणकारी राज्यले अङ्गिकार गरेको सामाजिक न्यायमा आधारित समाजको स्थापनामा राज्यको चौथो अङ्गले मार्गदर्शक र नेतृत्वदायी भूमिका खेल्नसक्ने विश्वास व्यक्त गरिन् ।
सूचना तथा सञ्चार प्रविधिमा आएको अभूतपूर्व विकासका कारण यो क्षेत्रको दायरा अझ बढी व्यापक र संवेदनशील हुँदै गएको र सञ्चारमाध्यममा पनि प्रतिस्पर्धा बढेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले यस्तो अवस्थामा काउन्सिलले पनि आफ्नो दक्षता पनि बढाउन आवश्यक रहेको औँल्याइन् ।
“सञ्चारमाध्यममा भएको वृद्धिसँगै उत्पन्न हुने समस्याको यथोचित समाधान गर्दै नेपाली पत्रकारिता जगत्लाई अझ निष्पक्ष, दिगो, टिकाउ र प्रभावकारी बनाउन काउन्सिल अझ सजग भएर लाग्नुपर्ने चुनौती रहेको छ” – उनले भनिन् ।
२०६२/६३ को जनआन्दोलन र देशमा आएको आमूल राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन तथा गत वर्ष नेपालको संविधान जारी गर्ने ऐतिहासिक तथा युगान्तकारी घटनामा नेपालको सञ्चार जगत्ले सशक्त अभियन्ताको भूमिका निर्वाह गरेको चर्चा गरिन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्ने नेपालको संविधान जारी भएपछि संविधानको कार्यान्वयन र पालनाका अतिरिक्त राज्यको चौथो अङ्गको ध्यान देशलाई दु्रततर गतिमा अघि बढाउने कार्यमा सहयोगीको रुपमा हुनुपर्नेमा उनले जोड दिएकी थिइन् ।
सञ्चार क्षेत्रले लोकतन्त्र, मौलिक हक, मानवअधिकार तथा देशका अल्पसङ्ख्यक, महिला, बालबालिका र विपन्न तथा उत्पीडित वर्गका हक र अधिकारको प्रभावशाली पहरेदारको काम गर्दै आएको राष्ट्रपति भण्डारीले बताइन् ।
सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता आलोचनात्मक हुनुपर्नेमा जोड दिँदै निडर भएर कलम चलाउन पत्रकारलाई आग्रह गरे । भने, “पत्रकारको तागत कलममा हुन्छ, सत्ता र शक्तिलाई हल्लाउनु पर्दछ । ”
रासस