अख्तियार प्रमुख बारे संसदमा छलफल हुनुपर्छ: गगन थापा
स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसद्मा छलफल हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै उनले भने, "प्रधानमन्त्री, राष्ट्रपतिको आचरणका बारेमा संसद्मा छलफल गर्न मिल्ने तर तथ्यसहित सार्वजनिक रुपमा कुरा उठिसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र अन्य आयुक्तको विषयमा छलफल हुनु हुँदैन भन्ने मानसिकता गलत हो ।"
महाअभियोग लगाउने वा नलगाउने भन्ने विषय छलफलपछिको विभाजनले देखाउने भन्दै मन्त्री थापाले आफू अहिले मन्त्री पदमा रहेकाले यस विषयमा अन्य सांसदले आवाज उठाउनु पर्ने बताए ।
चिकित्सा क्षेत्रको अनियमितताको विषयमा संवैधानिक निकायको संलग्नता विषयमा छानबिन हुनुपर्ने भन्दै उनले छलफलसम्म गर्न पनि डराउनु उदेकलाग्दो विषय भएको बताए ।
पत्रकारको एक प्रश्नमा उनले तत्कालीन माओवादी लडाकु शिविरको अनियमितताको विषय संवैधानिक निकायमा छलफलको विषय बनेकाले यस विषयमा जुन ठाउँमा छलफल हुनुपर्ने हो, त्यहाँ छलफल हुने बताए ।
मन्त्री थापाले डा गोविन्द केसीका अधिकांश मागका सम्बन्धमा सरकार सकारात्मक रहेको भन्दै केसीले तोकेकै समयमा माग पूरा हुन नसकेपनि चरणबद्धरुपमा माग पूरा गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए ।
चिकित्सा शिक्षा ऐन संशोधनका लागि दर्ता भइसकेको, ऐन पारित नभएसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिइने, मनमोहन स्मृति प्रतिष्ठानलाई मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषय अगाडि बढेको, सातै प्रदेशमा एक–एकवटा मेडिकल कलेज स्थापनाका लागि एक महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन आउने गरी काम भएकाले संसद्को प्रक्रियाका कारण काममा ढिलाइ भएपनि माग पूरा हुने थापाको भनाइ छ ।
डा केसीले जुन विषय उठाएका छन् त्यही सुधारका लागि आफू मन्त्री भएको उनले बताएका थिए । रासस