माओवादीले कांग्रेससँगको छलफलपछि मन्त्री चयन गर्ने
नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेससँगको सहमतिपछि मन्त्रीमण्डलमा सहभागी हुने मन्त्रीको नामावली चयन गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा आज बसेको माओवादी केन्द्र केन्द्रीय कार्यालयको बैठकले आजै अपराह्न १ बजे काँग्रेससँगको संयुक्त छलफलपछि मात्रै मन्त्रीको चयन गर्ने निर्णय गरेको हो ।
केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारका सहयात्री दलसँगको छलफलपछि मात्रै मन्त्रीको अन्तिम नाम चयन गरिने जानकारी दिइन् । तर उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा भने कृष्णबहादुर महरालाई पठाउने अनौपचारिक निर्णय भएको जनाइएको छ ।
शपथ ग्रहणपछि प्रधानमन्त्री लैनचौर जाने
प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेपछि शहीद स्मृति स्तम्भ लैनचौरमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको छ ।
यस्तै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शहीद तथा बेपत्ता योद्धाको स्मृतिमा निर्माण गरिएको स्तम्भमा माल्यार्पण गर्ने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ ।