पर्साः स्थानीय तह पुनर्संरचनाको काम स्थगित
मधेशकेन्द्रित दलहरुको विरोधले गर्दा पर्सामा स्थानीय तहको पुनर्संरचनाको काम स्थगित भएको छ ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति पर्साले ४ अशोजमा आयोजना गरेको बैठक शुरु हुने वित्तिकै मधेशकेन्द्रित दलका स्थानीय नेताहरुले आफ्ना माग पूरा नभएसम्म पुनर्संरचनाको काम अघि बढ्न नदिने भन्दै विरोध जनाए ।
संघीय समाजवादी फोरमका प्रदीप यादव, सदभावना पार्टीका इमदाद गद्धी लगायतका नेताहरुले स्थानीय तह पुनर्संरचना ‘मधेशको भावना विपरित’ हुन लागेको भन्दै स्थगित गर्नुपर्ने अडान राखेका थिए ।
संविधान संसोधन मार्फत सिमांकनको माग पूरा नभएसम्म स्थानीय तहको पुनर्संरचना गर्न नदिइने नेपाल सदभावना पार्टीका वीरगञ्ज नगर अध्यक्ष ओम प्रकाश सर्राफले बताए ।
संविधान संसोधनमार्फत सिमांकनको मुद्दा टुंगो नलागेसम्म पुनर्संरचनाको काम अघि नबढाउने लिखित निर्णय भइसकेको उनले बताए ।
“गाउँपालिका¸नगरपालिका तथा विशेष–संरक्षित–स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारणका सबन्धमा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनीधिहरु समेतको उपस्थितिमा बसेको बैठकमा संविधान संसोधन र प्रदेश सिमांकनको विषयमा केन्द्रीय स्तरमा टुङगो नलागेसम्म स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको सम्पूर्ण काम कारबाही स्थगित गर्न प्राविधिक सहयोग समिति मार्फत आयोग समक्ष लेखि पठाउने निर्णय गराएका छौं,” उनले भने ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक समेत रहेका स्थानीय विकास अधिकारी विश्व प्रकाश अर्यालले पनि दलीय सहमति नभएपछि पुनर्संरचनाको काम हाललाई स्थगित गरिएको जानकारी दिए ।
आयोगले तयार पारेको प्रारम्भिक खाकामा पर्सा जिल्लामा गाँउपालिका र नगरपालिका गरी ८ वटा स्थानीय तह बनाउने प्रस्ताव गरिएकोे छ ।
सुरेश बिडारी, वीरगञ्ज