ओलिम्पिक टर्च रियो पुग्दा विरोध
ग्रिसको ओलम्पियाबाट तीन महिना लामो यात्रा पश्चात डुंगामा राखेर ओलिम्पिक टर्च ब्राजिलको रियोमा शहरमा पुर्याइंदा खेल आयोजनामा चर्को खर्च गरिएको भन्दै आक्रोशित भएको भीडले विरोध प्रदर्शन गरेको छ।
भोलिबाट खेल आयोजना हुने रियो शहरको केन्द्रमा रियोका मेयरले टर्च बोकेर दौडिएका थिए भने त्यसैबीच सयौं प्रदर्शनकारीहरुले टर्च रिले रोक्ने प्रयास गरे।
चर्को आर्थिक मन्दी र राजनीतिक संकटबाट गुज्रिरहेको ब्राजिल सरकारले ओलम्पिक खेलको आयोजनामा धेरै नै खर्च गरेको उनीहरुको भनाई छ ।
रिले रोक्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले अश्रु ग्यास तथा पेपर स्प्रेको प्रयोग गरी तितरवितर बनाएको थियो । प्रहरी र प्रदर्शनकारीबीचको झडपमा टर्च रिले हेर्न उपस्थित स्थानीयबासीमा भागाभाग मच्चिएको थियो ।
शुक्रबार हुने ओलिम्पिक उदघाटन समारोह अघि त्यहाँ थप विरोध प्रदर्शन हुने अनुमान गरिएको छ । आयोजकहरुका अनुसार दश लाखभन्दा धेरै टिकट अझै विक्री भएका छैनन्।