प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण रद्द
प्रधानमन्त्री पुष्पकमल दाहालको सोमबार, ३ असोजबाट हुने भनिएको अमेरिका भ्रमण रद्द भएको छ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी भोलि अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम तय भएको थियो ।
आइतवार, २ असोज अपराह्न भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्री दाहालले अमेरिका भ्रमण स्थागित गरेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन् अमेरिका जाने आफ्नो पूर्व निर्धारित कार्यक्रम रद्द गरिएकोबारे उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराई सकेका छन् ।
दशैं अगावै संविधान संशोधन गरी मधेशी मोर्चाका माग पूरा गरी राजनीतिक समस्या समाधान गर्न उनले गरेको वाचा अनुसार अमेरिका नजाने निर्णय लिएका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालयको विज्ञप्ति:
मधेशी, थारु, जनजातिका प्रतिनिधि लगायत आन्दोलनरत दलहरुले अहिले विदेश भ्रमण गर्नुभन्दा प्रधानमन्त्रीले उनीहरुका समस्या सम्बोधनमा ध्यान दिनुपर्छ भन्ने आवाज उठाएको बर्तमान अवस्थामा विदेश भ्रमण होइन, संविधान कार्यान्वयन र पूनर्निर्माणका काममा प्रधानमन्त्री लाग्नुपर्छ भन्ने जनआवाज आएको सन्दर्भलाई विचार गरेर देशभित्रकै समस्यालाई समाधानमा ध्यान केन्द्रित गर्ने उद्धेश्यले जनआवाजलाई समेत ख्याल गरेर संयुक्त राष्ट्र संघको ७१ औं साधारण सभामा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्डले भाग लिन जाने कार्यक्रम रद्द गरिएको छ ।