प्रम दाहालले मुलुकको हितमा काम गरेनन्: पूर्वप्रम ओली
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा गएर प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको हितमा काम नगरेको आरोप लगाएका छन् ।
दुई देशका प्रधानमन्त्रीले जारी गरेको २५ बुँदे सयुक्त बक्तब्यले समेत राष्ट्र र जनताको हित विपरित रहेको र नेपालको शिर झुकाएको ओलीको आरोप छ ।
एमाले प्रदेश नम्बर ४ को भेलाको पोखरामा उद्घाटन गर्दै उनले एमालेले संयुक्त बिज्ञप्तिको विरोध गर्ने बताए । प्रधानमन्त्रीको भारत भ्रमणलाई उनले उपलब्धिविहीन भने ।
गत वर्ष संविधानलाई ठूलो उपलब्धी भनेको भारतले, अहिले ठीक छैन संशोधन गर्नुपर्छ भन्नुले शंका पैदा गरेको उनको जिकिर थियो ।
"अरुको इशारा अनुसार नचल्दा मेरो नेतृत्वको सरकार ढल्न पुग्यो," ओलीले भने, "संविधान जारी नगराउन ठूलै षडयन्त्र भएको थियो । सबैलाई ल्याएर चलाखीपूर्ण तरिकाले संविधान जारी गर्न सफल भयौं । अब संशोधनको नाममा संविधान कार्यन्यवन हुन नदिने ठूलै चलखेल शुरु भएको छ ।"
अहिले तीनै तहको चुनाव गराउनु मुलुकको मुख्य आवश्यक्ता रहेको ओलीको भनाई थियो ।