अक्कलका प्रहरी
मकवानपुर प्रहरीले एक वर्षमा हत्या, बलात्कारलगायतका जघन्य अपराधमा संलग्न १९ जना फरारलाई समात्नुमा एकजना प्रहरी जवानको अक्कलले काम गरेको छ।
१५ पुस २०७२ को बिहान हेटौंडा–११ थानाभर्याङको होटल हाइवेमा सुन्तली पुडासैनी (४५) को हत्या गरेर उनका गहना चोर्ने तीन जना त्यसको चार दिनमा हेटौंडा–१० स्थित बसपार्कमा पक्राउ परे।
हेटौंडा–७ कमानेकी एक महिलालाई बलात्कार गरेर फरार भएका गणेशचन्द्र दवाडी ४ चैत २०७२ मा बाराको भरतचोकस्थित लजबाट समातिए।
एक महीनाभित्र अमेरिकाको भिसा लगाइदिन्छु भन्दै हेटौंडा–९ की कमला खड्कालाई रु.५ लाख ४८ हजार ठग्ने बारा विरेदमार–८ बस्ने शशिकला घलान र उनकै भाइ सुदीप घलान ५ फागुन २०७२ मा पक्राउ परे।
२३ असोज २०६९ मा मकवानपुर जिल्ला अदालतले डाँका मुद्दामा ९ वर्ष कैद र रु.३ लाख ३ हजार जरिवाना तोकिएका हेटौंडा हर्नामाडीका आकाश लामा पनि अन्ततः प्रहरीको फन्दामा परिछाडे।
मकवानपुर जिल्ला प्रहरीको नेतृत्वमा अहिले 'दवंग' छवि बनाएकी एसपी मीरा चौधरी छिन्। प्रहरीले अहिले पाइरहेको सफलतामा भने प्रविधि प्रयोगमा पोख्त प्रहरी जवान महादेव पौडेल पर्दापछाडिका हिरो हुन्।
जिल्लामा पनि प्रविधिको उच्चतम उपयोग गरिरहेका पौडेलले कार्यालयमा बसी–बसी एक वर्षमा रु.१३ लाख ४० हजार मूल्यका ६० वटा मोबाइल सेट पत्ता लगाए, चोरसहित। त्यस्तै, ठगी मुद्दाका ६ जना, चोरी मुद्दाका चार जना, डाँका मुद्दाका एक जना, कर्तव्य ज्यान मुद्दाका तीन जना, सार्वजनिक अपराधका एक जना, जबर्जस्ती करणीका एक जना र अदालतले सजाय तोके पनि फरार रहेका दुई जना पौडेलकै अक्कलबाट प्रहरीको पञ्जामा परे।
मकवानपुरमा कुनै आपराधिक घटना हुनासाथ जिल्लाभरका करीब सवा सात सय प्रहरी जनशक्ति आ–आफ्नो हिसाबले सक्रिय हुन्छ। त्यसमध्येका एक प्रहरी जवान पौडेल भने घटनास्थलको सूचना लिएर अभियुक्त खोज्न जिल्ला प्रहरी कार्यालयको कम्प्युटरमा घन्टौं घोत्लिन्छन्। कुनै–कुनै घटनामा हप्तौं, महीनौं पनि लाग्छ।
जिप्रकाको साढे दुईतले भवनको दोस्रो तलामा एसपी चौधरीको कार्यकक्ष छेउमै छ, उनको कोठा पनि। प्रहरी सेवामा रहेरै स्नातक तहको अध्ययन जारी राखेका उनले कार्यालयमा पनि प्रविधिको माध्यमबाट अभियुक्तको खोजी गर्ने मुख्य जिम्मेवारी पाएका छन्।
त्यस काममा प्रहरी जवान पौडेलले प्रहरी प्रधान कार्यालय, प्रहरी अपराध अनुसन्धान महाशाखासँगै दूरसंचार सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलको सहयोग लिन्छन्।
त्यसक्रममा उनले अगाडि भएका अपराधका विवरणसहित टेलिफोन ट्रयाकिङ गर्छन्। इन्टरनेट प्रयोग गरेर अभियुक्त कुन स्थानबाट भागेर कहाँ बस्यो, सम्पर्क कोसँग गरिरहेको छ पत्ता लागेपछि आवश्यकता अनुसारको संख्यामा सादा पोशाक वा बर्दीको प्रहरी टीम खट्छ। “हामीले एक वर्षमा जति अपराधी समातेका छौं, त्यसमा प्रहरी जवान पौडेलको मुख्य हात छ”, एसपी चौधरी भन्छिन्, “प्रविधिमा पोख्त प्रहरी जनशक्ति भए अपराध नियन्त्रण सजिलो हुने मकवानपुर जिप्रकाले देखाएको छ।”
हरि हुमागाई, हेटौंडा