खेलाडीहरूलाई सेनाको सम्मान
‘प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता(२०७३’ समापनको अवसरमा विभिन्न खेलाडीहरु सम्मानित भएका छन् । प्रधान सेनापति राजेन्द्र क्षत्रीले सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र परिसरमा २९ भदौमा आयोजित कार्यक्रममा प्रधान सेनापति पृतना रनिङ शिल्ड फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हवाई सुरक्षा निर्देशनालय, द्वितीय मध्यपश्चिम पृतना र तृतीय मध्य पृतना हे.क्वा. टिमका खेलाडीहरुलाई नगद, प्रमाण पत्र र पदक प्रदान गरे ।
त्यसै अवसरमा रियो ओलम्पिक २०१६ मा राष्ट्रिय रेकर्ड कायम गर्न सफल खेलाडीहरु सुदुर पश्चिम हवाई सुरक्षा ब्याट्रीकी प्युठ सरस्वती भट्टराई (एथलेटिक्स १५०० मि.) र त्रिभुवन आर्मी क्लबसंग आवद्ध शिरिष गुरुङ्ग (पौडी १०० मि. फ्रिस्टायल) लाई सम्मान गरिएको थियो ।
सेनापति क्षत्रीले ‘अजेयबल ट्रफि’ पुरुषतर्फ पशुपतिप्रसाद गणका अम. दिपक श्रेष्ठ र महिलातर्फ जगदल गणकी प्युठ कृष्णाकुमारी चौधरीलाई प्रदान गरे । यसैगरि जुडो प्रशिक्षक ईन्द्र डंगोललाई प्रशंसा पत्र प्रदान गरिएको थियो । लाईफ टाइम अचिभमेण्ट अवार्ड तेक्वान्दोका जम. ध्रुव बहादुर गुरुङ्ग (अ.प्रा.) र अमल्दार शंकर तामाङ्ग (अ.प्रा.), फुटबलका प्राविधिक जमदार बाबुकाजी धौवन्जार (अ.प्रा.), बक्सिङका हुद्धा पूर्ण बहादुर गुरुङ्ग (अ.प्रा.), भारत्तोलनका हुद्धा ज्ञानबहादुर श्रेष्ठ (अ.प्रा.) र पौडीका अमल्दार सिताराम शाही (अ.प्रा.) लाई प्रदान गरियो ।
कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी रमेशकुमार पुनले समापन मन्तव्य व्यक्त गरेका थिए । समापन समारोहमा नेपाली सेनाका पूर्वप्रधान सेनापतिहरु, अन्य सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, नेपाली सेनाका रथीबृन्द एवं अधिकृतहरु, विदेशी सैनिक सहचारीहरु, नेपाल खेलकुद परिषद्का पदाधिकारीहरु तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।