थप समाचार आइतबार, भदौ ११, २०७४

डब्लुएफपीद्वारा बाढी प्रभावितलाई खाद्यान्न वितरण शुरु

हिमालखबर

संयुक्त राष्ट्र सङ्घ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले नेपालका बाढी प्रभावित एक लाख ८० हजार व्यक्तिका लागि खाद्यान्न वितरण शुरु गरेको छ । 

डब्लुएफपीले स्थानीय निकायसँगको समन्वयमा सप्तरी, रौतहट, बाँके र बर्दियामा दुई साताका लागि पुग्ने गरी चामल र दाल वितरण गर्न शुरु गरेको डब्लुएफपीका सञ्चार अधिकृत सीताष्मा थापाले जानकारी दिइन् । साथै स्थानीय बजार पुनःस्थापन भइसकेका रौतहटका थप ४० हजार विस्थापितलाई खाद्यान्न खरिदका लागि नगद प्रदान गरिने उनले बताइन् । 

सरकारी तथ्यांकअनुसार केही दिनअघिको बाढीबाट तराईका ८० प्रतिशतभन्दा बढी भूभाग डुबान हुँदा त्यहाँ ठूलो संख्यामा घर, सञ्चित खाद्यान्न, गाईबस्तु/चौपाया तथा बालिनालीमा क्षति पुगेको छ । मुलुकको अन्न भण्डारका रुपमा रहेको तराईमा बाढीका कारण धान तथा गहुँको उत्पादनमा समेत असर पर्ने अनुमान गरिएको छ । 

डब्लुएफपीले कुपोषणबाट बचाउनका लागि सरकार तथा अन्य साझेदार संस्थासँगको सहयोगमा बाढी प्रभावित १३ जिल्लाका १९ हजार ५०० गर्भवती तथा सुत्केरी महिला र छदेखि २३ महिनासम्मका २७ हजार ७०० बालबालिकाका लागि थप २०० मेट्रिक टन प्रशोधित खाद्यान्न उपलब्ध गराउने जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस