रिपोर्टआइतबार, २६ भाद्र , २०७३

सास्तीको अर्को नाम नारायणघाट–मुग्लिन सडक

तस्वीर: तुफान न्यौपाने 

भरपर्दो वैकल्पिक बाटोको निर्माण नगरिएसम्म नारायणघाट–मुग्लिन सडकको घाउ कहिल्यै निको हुने छैन ।

२० भदौ बिहान ७ बजे दार्चुला सदरमुकाम खलङ्गाबाट छुटेको महाकाली यातायातको ना ६ ख १२२३ नम्बरको रात्रिबस काठमाडौं आइपुग्न बढीमा २३ घण्टा लाग्नुपर्ने हो । तर, लाग्यो ३० घण्टा ।

चालक लोकेन्द्र विष्टका अनुसार, दार्चुला–नारायणघाट ८१२ किलोमिटरको यात्रा तय गर्न उनलाई १९ घण्टा लागेको थियो । तर, नारायणघाट–मुग्लिनको ३६ किलोमिटर सडक पार गर्न ८ घण्टा लागेको उनी बताउँछन् । “खासमा ३६ किलोमिटर एक घण्टाको बाटो पनि होइन”, विष्ट भन्छन्, “तर, यही बाटोले रुवाउँछ ।”

सिरहाको गोलबजारबाट आएको ना ५ ख ४९१६ नम्बरको रात्रिबसका चालक मृगेन्द्र साहको अनुभव पनि उस्तै छ । “हेटौंडा, भीमफेदीको सानो बाटोमा बस चलाउन अप्ठ्यारो हुन्छ”, उनी भन्छन्, “नारायणघाटबाट मुग्लिन कटाउन सारै हैरान भइन्छ ।”

साँघुरो बाटो (५.५ मिटर), सवारीको अत्यधिक चाप र सधैंको पहिरोका कारण नारायणघाट–मुग्लिन सडक सास्तीको अर्को नाम बनेको छ । अहिले भइरहेको सडक स्तरोन्नतिले अवरोध झनै बढाएको छ । “यातायात रोकेर, वान–वे चलाएर काम गर्नुपर्छ, त्यसले पनि जाम थपेको छ”, नारायणघाट–मुग्लिन सडक आयोजनाका सिनियर डिभिजन इन्जिनियर (सीडीई) गोविन्दप्रसाद खनाल भन्छन् ।

सुस्त स्तरोन्नति
नारायणघाट र गोरखा जोड्न ३४ वर्षअघि चीनको सहयोगमा निर्मित नारायणघाट–मुग्लिन सडक अधिकांश भाग समस्याग्रस्त छ । तर, राजधानीलाई पूर्व–पश्चिम जोड्ने अर्को भरपर्दो राजमार्ग नभएपछि यात्रु दुःख सहन बाध्य छन् ।

सडक स्तरोन्नति आयोजना थाल्नुअघि गरिएको वातावरणीय प्रभाव मूल्यांकनमा पनि विकल्प नभएकै कारण यही सडक मर्मत गर्नुपरेको निष्कर्ष निकालिएको थियो ।

‘अर्को १०/१५ वर्षसम्म पूर्व–पश्चिम राजमार्ग जोड्ने विकल्प पनि नभएकोले स्तरोन्नति गर्न आवश्यक रहेको देखियो’ प्रतिवेदनमा भनिएको छ । भारतसँगको व्यापार तथा यातायातका लागि पनि यो प्रमुख मार्ग भएकोले सडक सुधार प्राथमिकतामा परेको हो ।

विश्व ब्यांकको सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तर्गत चैत २०७१ देखि सडकको स्तरोन्नति भइरहेको छ । यतिबेला नारायणघाट–मुग्लिन ३६ किलोमिटर सडक खण्डमध्ये नारायणघाटतर्फको शुरूआती दुई किलोमिटर र मुग्लिनतर्फको एक किलोमिटर छाडेर ३३.२ किलोमिटर सडकमा निर्माण चलिरहेको छ ।

करीब रु.५ अर्बको यो आयोजनाका सम्पूर्ण काम साउन २०७४ सम्म सक्ने लक्ष्य राखिएको छ । आयोजनाको विभिन्न सडकखण्डमा तीनवटा निजी कम्पनीले निर्माण ठेक्का लिएका छन् ।

तर काम यति सुस्त भइरहेको छ कि अहिलेसम्म आयोजनाको करीब २५ प्रतिशत काम मात्र सकिएको छ । ढिलाइका लागि पहिरो समस्या र वहाना दुवै बनेको छ । “अहिलेसम्म २४/२५ प्रतिशत काम मात्र भएको छ । समयमा सक्न गाह्रो छ”, आयोजनाका सीडीई खनाल भन्छन्, “म्याद थप हुन्छ होला ।”

निर्माणका क्रममा अहिले आँपटारीदेखि १६ किमिसम्म ११ मिटर र त्यसपछिको १७ किमि बाटोलाई ९ मिटर चौडा बनाइँदैछ भने पहिलो खण्डमा दुई/दुई मिटर सोल्जर र दोस्रो खण्डमा एक÷एक मिटर सोल्जर निर्माण हुनेछ । पहिलो खण्ड तीन लेनको र दोस्रो खण्ड दुई लेनको बन्नेछ ।

दशैंमा दुःख दोब्बर
हरेक वर्ष जब दशैं–तिहार आउँछ, राजधानीवासीलाई नारायणघाट–मुग्लिन सडकको अवस्थाले सताउने गर्छ । सधैंको यस्तो चिन्ता शुरू भइसकेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक ललित बस्नेतका अनुसार, दैनिक झण्डै १५ हजार सवारी राजधानी भित्र/बाहिर गरिरहेका छन् । तीमध्ये झ्ण्डै ८ हजार सवारीले नारायणघाट–मुग्लिन सडक नै प्रयोग गर्दै आएका छन् । “दशैं–तिहारमा यो संख्या ठ्याक्कै दोब्बर हुन्छ”, बस्नेत भन्छन् । त्यसबेला काठमाडौंबाट करीब १५–२० लाख मानिस बाहिरिने गरेको प्रहरीको अनुमान छ ।

“अहिले नै यति गाह्रो छ, दशैं–तिहारमा झ्न् के हाल होला”, आयोजनाका सीडीई खनाल भन्छन् । तर, केही समय निर्माण रोकेर र वान वे गरेर पनि सवारीलाई केही सहज बनाउने तयारी गरिरहेको उनी बताउँछन् ।

यात्रा सहज बनाउन जिल्ला प्रहरी कार्यालय, चितवनले सिमलतालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरेको छ । पोष्टमा खटिएका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक वीरेन्द्र महत पहिरो, एकतर्फी सञ्चालन र निर्माणका कारण आवागमन अस्तव्यस्त भएको बताउँछन् । “दिउँसो त ठीकै होला, राति जोखिम हुन सक्छ”, महत भन्छन् ।

पश्चिम जाने यात्रुका लागि मुग्लिनबाट पोखराहुँदै बुटबल तथा पूर्वका लागि भीमफेदीहुँदै हेटौंडा तथा धुलिखेलबाट बर्दिबास निस्कन वैकल्पिक बाटो छ । तर यी बाटा साना सवारीलाई मात्र उपयुक्त मानिन्छन् ।

‘पहिरोको कारण राजमार्ग’
त्यसो त पूर्व–पश्चिम जाने वैकल्पिक बाटो निर्माण नभएसम्म जतिसुकै स्तरोन्नति भए पनि नारायणघाट–मुग्लिन सडकको अवरोधमा उल्लेख्य कमी आउने देखिन्न ।

सडक विभागले तयार पारेको ‘नारायणघाट–मुग्लिन सडक स्तरोन्नतिका लागि वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन’ ले पनि यही भन्छ । भदौ २०६७ मा प्रतिवेदन तयार पार्दा यो सडकमा दैनिक ५ हजार ९६८ सवारी साधन आवतजावत गर्थे । तर, २०७१ मा सवारीको संख्या ६ हजार ४४५ पुगेको थियो । अहिले यही बाटो हुँदै करीब ८ हजार सवारी ओहोरदोहोर गर्छन् ।

प्रतिवेदनका अनुसार, २०७७ सालसम्म यो बाटोबाट दैनिक १२ हजार ५० सवारी साधन चल्ने छन् । अहिले स्तरोन्नति भइरहेको आँपटारीदेखि १६ किमिसम्म तीन लेनको भए पनि त्यसपछिको १७ किमि दुई लेनकै हुने भएकोले अवरोध खासै नहट्ने देखिन्छ ।

यो सडक खण्डको दीर्घ रोग प्राकृतिक संरचना नै मानिंदै आएको छ । तर, वैज्ञानिकको एक समूहले राजमार्ग पनि पहिरोको कारण भएको दाबी गरेका छन् ।

सन् २०१३ मा ‘क्याटेना’ जर्नलमा प्रकाशित ‘रक टोपलिङ्ग एसेस्मेन्ट एट मुग्लिन–नारायणघाट रोड सेक्सनः अ केस स्टडी फ्रम मौरी खोला ल्याण्डस्लाइड, नेपाल’ अध्ययनमा यस क्षेत्रको भू–बनोट नै पहिरोको कारक भएको बताइएको छ ।

जापानस्थित शिन्शु विश्वविद्यालयको जिओलोजी विभागमा कार्यरत अमरदीप रेग्मी र कोहकी यासिदा, हिदेसा नागदा र विश्वजित प्रधानको टोलीले गरेको अध्ययनमा पत्रे चट्टान, ढुंगा नअडिने बनोटलगायतका थुप्रै कारणले लगातार पहिरो जाने, ढुङ्गा खस्ने, गेग्रान र खैरो माटो झरिरहने उल्लेख छ । यस्तो ठाउँमा सडक बनाइएपछि पहिरोको जोखिम झनै बढ्ने स्वाभाविक नै भयो– लेखमा भनिएको छ ।

मुग्लिन–नारायणघाट सडक आयोजनाका सीडीई खनाल सिन्धुली–बर्दिबास राजमार्गको स्तरोन्नति, फास्ट ट्रयाक र काठमाडौं–हेटौंडा सुरुङ मार्ग शुरू नहुँदासम्म यात्रुको सास्ती कम नहुने बताउँछन् । “स्तरोन्नतिपछि केही सहज त होला तर वैकिल्पक बाटो नखोल्दासम्म केही हुन्न”, उनी भन्छन् ।

प्रतिकृया दिनुहोस