प्रमको दिल्ली भ्रमणः हाइड्रो प्रोजेक्टदेखि पतञ्जली योगपिठसम्म
भारतको तीन दिने औपचारिक भ्रमणमा जानलागेका प्रधानमन्त्री पुष्पकमल दाहालले महत्वपूर्ण राजनीतिक भेटघाट गर्नुका साथै पतञ्जली योगपिठको कारखाना समेत अवलोकन गर्ने भएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई आफ्नो भारत भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री दाहालले ३० भदौ अपरान्ह दिल्ली पुगेलगत्तै भारतका साना राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्ने र भारतमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने बताए ।
प्रम दाहालका अनुसार उनले त्यसैदिन साँझ दूतावासले आयोजना गर्ने रात्री भोजमा भारतीय राजनीतिक दलका नेता, पूर्व कुटनितिज्ञ, पत्रकार लगायतसँग अन्तरक्रिया गर्नेछन् ।
३१ भदौमा भारतीय राष्ट्रपति प्रवण मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग उच्च राजनीतिक भेटघाट हुने र त्यसै दिन नेपाल र भारतबीचमा विभिन्न दुईपक्षीय सम्झौताहरु समेत हुने कार्यक्रम छ ।
१ असोजमा दाहालले हिमाञ्चलमा हाइड्रोपावरको अवलोकन गर्ने र दिल्ली फर्केर भारतीय उच्च व्यापारीहरुसँग छलफल गर्नेछन् ।
१ असोजमै उनले इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रममा नेपाल-भारत सम्बन्धबारे प्रवचन दिनेछन् भने पत्रकारहरुसँग अन्तर्क्रिया कार्यक्रमको पनि आयोजना हुनेछ ।
२ असोजमा प्रधानमन्त्री दाहाल योग गुरु रामदेवको पतञ्जली योगापिठमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुने र पतञ्जलीको कारखाना अवलोकन गर्नेछन् ।
समितिलाई भ्रमणबारे जानकारी दिंदै दाहालले आफ्नो भारत भ्रमणलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको बताए । “मैले अहिलेसम्म जे बुझेको छु, सबैले विगतको तीतोमिठोबाट शिक्षा लिएर अघि बढ्न बल गरेको पाएँ,” उनले भने । उनले आफ्नो भ्रमण नयाँ सन्धि, सम्झौता गर्ने भन्दा पुराना सन्धि, सम्झौता कार्यान्वयनमा केन्द्रित हुने स्पष्ट पारे ।
भूकम्पपछिको पुनःनिर्माणमा थप सहयोग, ऊर्जा व्यापार सम्झौता र जल विद्युत्सम्बन्धी विगतका सम्झौता कार्यान्वयन र हुलाकी राजमार्ग निर्माणका विषयमा छलफल हुने उनले जानकारी दिए ।
सहमतिको ‘फर्मुला’
प्रधानमन्त्री दाहालले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न संविधान संशोधनका लागि छलफल चलिरहेको र छलफल सहमति नजिक पुगेको जानकारी दिए ।
उनले भने “हिजो र अस्ति प्रमुख दलका नेता र मधेसी मोर्चाका नेतासँगको छलफलबाट म के भन्नसक्छु भने सहमति हुन्छ । प्रतिपक्षमा रहेका पार्टी पनि त्यो संशोधनमा सहमति गर्नुहुन्छ । त्यो फर्मुला मैल बाहिर भनेको छैन, त्यो फर्मुलामा उहाँहरु आउनुहुन्छ ।”
प्रधानमन्त्रीले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै लैजानेमा आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो । उनले भने, “कसैले आफूलाई शासक ठान्ने र कसैले आफूलाई शासित ठान्दै जाने हो यसले देशमा समस्या निम्त्याउँछ । हिमाल, पहाड र मधेस सबै एकतावद्ध हुने सिद्धान्त नै राष्ट्रको हितमा हुन्छ ।”
भारत भ्रमणबारे छलफल गर्न २८ भदौमा सबै पार्टीको बैठक बोलाएको जानकारी पनि उनले दिएका थिए ।
सांसदका सुझाव
बैठकमा सांसदहरुले सीमा वारिपारि हुने अपराध नियन्त्रण, कोसी बाढीपीडितले अझै मुआब्जा र क्षतिपूर्ति नपाएको, सीमा सशस्त्र प्रहरी बलले सीमा आउजाउ गर्दा नेपालीलाई दुःख दिने गरेको विषय भ्रमणका बेला उठाउन जोड दिएका थिए ।
भारत हुँदै तेस्रो मुलुकमा नेपाली कामदारको ओसारपसार भइरहेकाले त्यसलाई रोक्ने, भारतबाट कामदारले रकम पठाउन असहज रहेकाले त्यो हटाउने विषय समेत भ्रमणका बेला उठाउन सांसदहरुले सझुाव दिए ।
सांसद भीम रावलले दुई देशको विवादित विषय समाधान गर्न दुबै देशका प्रतिनिधि सम्मिलित प्रवुद्ध समूह गठन भएकाले त्यसले दिने सुझाव र निष्कर्षका आधारमा मात्रै भारतसँग थप सहमति गर्नु उपयुक्त हुने बताए ।
उनले महाकालीको डिपिआर छिटो बनाउन र तराई क्षेत्रको डुबान समस्या उठाउन सुझाव दिँदै भ्रमणका क्रममा रेडियो नेपालको विषयमा समेत केही सहमति गर्न लागिएको सुनिएकाले त्यसमा स्पष्ट हुन आवश्यक रहेको बताए ।
रासस