शिलान्यास भएको भोलिपल्टै भिठ्ठामोड–जलेश्वर–जनकपुर सडकमा आन्दोलन
शिलान्यास भएको भोलिपल्टै महोत्तरी र धनुषा जिल्लाको सदरमुकाम जोड्ने भिठ्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माण कार्य अन्योलमा परेको छ ।
तीन दिनअघि स्तरोन्नतिका लागि भौतिक निर्माण तथा यातायातमन्त्री रमेश लेखकले जलेश्वरमा आयोजित कार्यक्रममा शिलान्यास गरेको भोलिपल्ट नै सडक क्षेत्रका चोकमा विरोध जुलुस र यातायात अवरुद्ध हुन थालेपछि निर्माण कार्य अन्योलमा परेको हो ।
पछिल्लो एक दशकयता ठूल्ठूला खाल्डाखुल्डी बनेर यातायात सञ्चालनमा जोखिमयुक्त बनेको यो सडक स्तरोन्नतिका लागि लगातार माग र आन्दोलन हुँदै आएपछि गत शुक्रबार मन्त्री लेखकले ३० महिना भित्र निर्माण कार्य सम्पन्न हुने प्रतिबद्धता सहित शिलान्यास गरेका थिए ।
तर सडक स्तरोन्नतिका लागि पछिल्लो एक महिनायता आन्दोलन गर्दै आएको महोत्तरी–धनुषा संयुक्त सङ्घर्ष समितिले सडक ६ लेनको बन्नुपर्ने माग गर्दै शनिबारदेखि नै विरोध र यातायात अवरुद्धजस्ता आन्दोलन शुरु गरेकाले सडक स्तरोन्नति कार्य रोकिने चिन्ता बढेको सडक क्षेत्रका बासिन्दाले बताएका छन् ।
“लामो समयपछि सरकारले सडकबारे चासो राखेर शिलान्यास गरेपछि सडक स्तरोन्नति हुने आश पलाएको थियो”, महोत्तरीको पिगौना गाविसका निवर्तमान अध्यक्ष महेन्द्र साहले भने–“चोकचोकमै विरोध र यातायात अवरुद्ध गरेपछि अब सडक के बन्ला र ?” सडकको दुरावस्थाले सास्ती खेपेका सडक क्षेत्रका बासिन्दाले अब सडक बन्ने आश जागेपनि लगत्तै शुरु भएको विरोधले निरास बनाएको बताएका छन् ।
सङ्घर्ष समितिले भने सडक निर्माणकार्य रोक्न नभई यसलाई ६ लेनमा स्तरोन्नति गराउन आन्दोलनलाई निरन्तरता दिनु परेको जनाएको छ ।
यसैबीच हुलाकी राजमार्ग परियोजनाका निर्देशक बलराम मिश्रले यो सडकको निर्माण कार्यलाई दुई भागमा विभाजन गरी महोत्तरीमा १३ र धनुषामा छ किलोमिटर दूरीमा ६ लेन र बस्ती नभएका क्षेत्रमा चार लेनको स्तरोन्नति हुन लागेको जानकारी दिएका छन् ।
दुई भागमध्ये महोत्तरीको भिठ्ठामोड देखि कुटमेश्वरीसम्मको पहिलो खण्ड रोशन कन्सट्रक्सन कम्पनी काठमाडौँ र कुटमेश्वरीदेखि धनुषाको दूधमती पुलसम्मको दोस्रो खण्ड प्रतिभा वाइपी जेपी कन्सट्रक्सनले निर्माण गर्ने सम्झौता भएको कार्यालयले जनाएको छ ।
दुवै जिल्लाको सदरमुकाम जोड्ने मात्र नभएर भारतसँग सिधा सम्पर्क हुने यो सडकको ठूल्ठूला खाल्डाखुल्डीले गर्दा दिनहुँ सवारी दुर्घटनाका घटना भएको थियो ।
पाँच वर्षअघि सडक कालोपत्र गर्ने ठेक्का पाएको भारतीय भिस्वा विभिएसआर जेभी कम्पनीले काम नगरी ३० महिने ठेक्का अवधि गुजारेर बेपत्ता भएपछि सडक निर्माण अलपत्र परेको थियो । रासस