वेलकम ड्रिंक
- शिव मुखिया
नेपाली बजारमा वाइनको खपत कति हुन्छ? ठ्याक्कै तथ्यांक छैन। तर, वाइन पारखीको संख्या भने क्रमशः फैलँदो छ। हिजो सम्भ्रान्तहरूको पेयको परिचयमा सीमित वाइन आज आम मानिसको हातमा पुगिसकेको छ। खानपिनमा पाहुना–पेय वाइन क्रमशः परिवारकै सदस्य बन्दो छ। चाडपर्व, भोजभतेर, उत्सवमा वाइनको साथ खोज्न थालिएको छ।
पश्चिमा समाजमा दिवा तथा रात्रिकालीन भोजनमा वाइन समावेश गरिन्छ। हामीकहाँ आगन्तुकलाई हार्दिकतापूर्वक चिया टक्र्याए जस्तै कतिपय मुलुकमा वाइन थमाइदिने प्रचलन पनि छ। अहिले नेपाली समाज विस्तारै यसैको अनुसरण गरिरहेको छ।
“अन्य मदिराजन्य पेयभन्दा वाइनको विशिष्ट स्थान छ”, श्री महाकाली वाइन प्रालिका प्रबन्ध–निर्देशक सन्तोष खड्का भन्छन्, “वाइनलाई नेपाली समाजले स्वीकारिसकेको छ।” वाइनको प्रकृति अनुसार ग्लासदेखि सर्भ गर्ने शैलीसम्ममा कलात्मकता झ्ल्कने उनी बताउँछन्।
“वाइन मात्ने गरी होइन, शिष्ट ढंगले पिउनुपर्छ भन्ने मानसिकता विकास भइरहेको छ”, स्नोम्यान वाइनरी प्रालिका अध्यक्ष ज्ञानु प्रसाईं भन्छन्। डेढ दशकदेखि वाइन उत्पादन र प्रवर्द्धनमा सक्रिय प्रसाईं जिब्रोले मात्र होइन, दृष्टि, स्पर्श, आवाज सबैबाट वाइनको आनन्द लिनुपर्ने सुझाव दिन्छन्।
कुनै समय वाइन भन्नासाथ 'लेडी ड्रिंक' को संज्ञा दिइन्थ्यो। अहिले यो लिंग–भेद तोडिन थालेको छ। अहिले वाइन 'सोसल ड्रिंक' बनेको छ।
फैलँदो बजार
वाइनको स्वादमा नेपाली जि्रबो अभ्यस्त भएसँगै स्वदेशमै वाइन उत्पादन गर्नेहरू बढिरहेका छन्। अहिले बजारमा एक दर्जन जति वाइन कम्पनी छन्। पूर्वको संखुवासभा जिल्लाबाट हिंवा ब्रान्डमा शुरू भएको वाइनको स्वादको यात्रा पश्चिम पोखराको डाँडाघरे हुँदै डिभाइन, विग मास्टर, नेसी, चेसुङ, किंग्स हिल, ओल्ड सिटी भ्यालेन्टिनो, जयभूमि, रोयलगेट, लेले सम्म आइपुगेको छ।
नेपाली बजारमा २०५२ सालमा पहिलो पटक मकालु वाइन उद्योगले हिंवा वाइनको उत्पादन थालेको हो। उद्योगका निर्देशक आश्रय रञ्जितकार चुत्रो, ऐंसेलुजस्ता फलफूलबाट वाइन उत्पादन गरिंदै आएको बताउँछन्। हिंवा ले नेपाल मात्र होइन, सातसमुद्रपार समेत आफ्नो स्वाद पस्किसकेको र बजार निरन्तर विस्तार भइरहेको रञ्जितकारको दाबी छ।
तेह्रथुममा उत्पादन भइरहेको चेसुङ वाइन हङकङका नेपालीमाझ् पुगेको छ। डिभाइन वाइनले नर्वेमा बजार खोजिरहेको छ। डाँडाघरे वाइन यूरोप–अमेरिका पुगेको छ।
स्वदेशी वाइन उद्योगले स्थानीयलाई रोजगारी मात्र होइन, कृषि उपज पनि खपत गरिरहेको छ। खासगरी स्याउ, नासपाती, ग्राउन्ड एप्पललगायत फलफूलबाट वाइन उत्पादन गरिंदै आएको छ। तर, निर्वाहमुखी कृषि प्रणालीका कारण वाइनका लागि आवश्यक कच्चा पदार्थ उपलब्ध हुन नसकेको उद्यमीहरू बताउँछन्। कति वाइन उद्योगले त व्यावसायिक रूपमा फलफूल उत्पादन पनि गरिरहेका छन्, तर उत्पादनमा आत्मनिर्भर हुने स्थिति आइसकेको छैन। त्यसैले अंगुरलगायतका कच्चा पदार्थ तेस्रो मुलुकबाट आयात गर्नुपरेको छ।
मीठो, सस्तो र गुणस्तरीय
स्वदेशी वाइनको सरदर मूल्य प्रति वोतल रु.३५० बाट शुरू हुन्छ। रु.५०० सम्म खर्चने हो भने स्वाद अनुसारको वाइन चाख्न सकिन्छ। जबकि त्यही गुणस्तर र स्वादको आयातीत वाइन पिउन रु.१ हजारभन्दा बढी खर्चनुपर्ने व्यवसायीहरूको दाबी छ। विदेशी बजारबाट डाँक बढाबढ (अक्सन) बजारबाट ल्याइएका वाइन ढुवानीलगायतका शुल्कले महँगो पर्छन्।
स्वदेशी वाइन भन्नेवित्तिकै 'नाक खुम्च्याउने' वाइनका पुराना पारखीहरू पनि छन्। तर, नेपाली उत्पादनले यसलाई चिर्ने प्रयत्न गरिरहेको छ। “सस्तो र स्वदेशी भन्नासाथ कमसल नै हुन्छ भन्ने भ्रम पनि कतिपयमा देखिन्छ”, चेसुङ वाइन उत्पादक तीनजुरे वाइन उद्योगका निर्देशक प्रकाश श्रेष्ठ भन्छन्। नेपाली वाइनलाई 'बेस्वादिलो' भनी टिप्पणी गरिहाल्नुअघि एकपटक चाख्न सुझाव दिने श्रेष्ठ आयातीतको तुलनामा स्वदेशी वाइनको गुणस्तर कम नरहेको दाबी गर्छन्। विदेशी वाइनमा उत्पादन मिति र मूल्य पनि अस्पष्ट हुने उनको जिकिर छ।
वाइन पारखीका अनुपातमा 'वाइन–सचेतना' भने बढ्न सकेको छैन। “वाइन कसरी पिउने, कति पिउने भन्ने कुरामा कतिपय जानकार छैनन्”, विग मास्टर वाइन उत्पादक रोयल काठमाडौं हिमालय वेभरेज प्रालिका गणेशप्रसाद चापागाईं भन्छन्। वाइनको प्रकृति अनुरूप पिउने शैली थाहा नहुँदा वास्तविक स्वादबाट विमुख हुनुपर्ने बताउँदै उनी भन्छन्, “कतिले वाइन नै पिउन जान्दैनन्, अनि त्यसको स्वादलाई दोष दिन्छन्।”
मदिरा कि हल्का पेय?
वाइन फलफूलबाट उत्पादित पेय हो, जसमा १० देखि १५ प्रतिशतसम्म अल्कोहल हुन्छ। पश्चिमा मुलुक र भारतका केही प्रान्तमा वाइनलाई 'हल्का पेय' को रूपमा लिइन्छ। नियन्त्रित मात्रामा पिइने भएकाले वाइनलाई 'मदिराजन्य' भनिंदैन। तर, नेपालको परिदृश्य भने फरक छ।
नेपालमा वाइनलाई 'मदिराजन्य पदार्थ' मा समेटिएको छ, जसप्रति उद्यमी सन्तुष्ट छैनन्। दुर्गा वाइन उद्योगका सिईओ दीपकिसन खड्का भन्छन्, “विशुद्ध फलफूलबाट तयार गरिएको पेयलाई मदिराजन्य भनी परिभाषित गर्दा समाजको दृष्टिकोण सकारात्मक हुनसकेको छैन।”
स्वदेशी वाइन उद्योगले खुट्टा टेक्ने जमर्को गरिरहेको अवस्थामै यसलाई मदिराजन्य उत्पादनमा राखेर शुल्कको भार बोकाइएको उद्यमीहरूको आरोप छ। मदिरा झैं अन्तशुल्कलगायत अतिरिक्त शुल्क तिर्नुपर्ने भएकाले वाइनको बजार अपेक्षित रूपमा फस्टाउन नसकेको उनीहरूको भनाइ छ।
यसरी बनाइन्छ
नेपाली जनजाति समुदायमा चामल, कोदोलगायतका अन्य अन्नद्वारा जाँड बनाउने परम्परा नयाँ होइन। त्यसैको उन्नत रूप हो, वाइन। तर, वाइन फलफूलबाट बनाइन्छ, खासगरी अंगुरबाट।
विज्ञका अनुसार फलफूललाई पेलेपछि त्यसमा इस्ट (मर्चा) राखेर फर्मेन्टेड गरिन्छ। फर्मेन्टेड प्रक्रियापछि फलफूलको गुलियोको मात्रा अल्कोहलमा परिणत हुन्छ। सामान्यतः ६ महीनादेखि एक वर्षसम्मको फर्मेन्टेशनपछिको वाइन पिउनयोग्य मानिन्छ। फर्मेन्टेशन अवधि जति लामो हुन्छ, वाइन उत्तिकै गुणस्तरीय हुन्छ।
कति पिउने?
पछिल्लो समय वाइनलाई 'सोसल ड्रिंक' का रूपमा पनि लिन थालिएको छ। जसलाई नियन्त्रित मात्रामा पिउन सकिन्छ। फलफूलबाट उत्पादित नेपाली वाइनमा १० देखि १६ प्रतिशतसम्म अल्होहल पाइन्छ। त्यसैले स्वस्थ वयस्क व्यक्तिले एक दिनमा ३५० एमएलसम्म वाइन आरामले पिउन सक्ने बताइन्छ।
नियन्त्रित वाइन सेवनले मानसिक तथा शारीरिक थकान कम हुने लेले वाइन उद्योगका निर्देशक कृष्ण थापा बताउँछन्। रेड वाइनको उचित सेवनले मुटुरोगको जोखिम समेत कम गर्ने विभिन्न अध्ययनमा उल्लेख छ।
कसरी पिउने?
भनिन्छ, वाइन पिउने आधा र महसूस गर्ने आधा हो। वाइन पिउँदा पाँचै इन्द्रियले यसको स्वाद लिन्छ। त्यसैले वाइन खन्याउने, सर्भ गर्ने र पिउने पनि फरक कला चाहिन्छ।
वाइनको प्रकृति अनुसार गिलास पनि फरक हुन्छ। गिलासमा वाइन खन्याउँदा बोतल र गिलासबीच निश्चित दूरी आवश्यक हुन्छ, जसले वाइन गिलासमा झ्रेको आवाज सुनियोस्। गिलासलाई थोरै ढल्काएर त्यसको पिंधमा वाइन खन्याउँदा अर्कोतिरबाट छालजस्तै वाइन माथितिर आउँछ। गिलासको एकतिहाइ भाग मात्र वाइनले भर्नुपर्छ।
वाइन गिलास ओंठसम्म पुर्याउँदै गर्दा वास्ना पनि लिनुपर्छ। निल्नुअघि एकछिन जिब्रोले चलाएर मुखमै खेलाउनुपर्छ। वाइनको प्रकृति अनुसार गिलास हातमा लिने तरिकाको पनि ज्ञान हुनुपर्छ।
सामान्यतः जाडो मौसममा रेड वाइन उपयुक्त मानिन्छ भने, ह्वाइट वाइन गर्मीमा। ह्वाइट वाइनलाई पूरै चिसो बनाएर खाँदा बढी स्वादिलो हुन्छ। रेड वाइन मध्याह्नमा र ह्वाइट चाहिं साँझ्मा पिउनु स्वादिलो मानिन्छ। वाइनसँगै मासु, चिज, फलफूल खान रुचाइन्छ।
हिंवा
नेपालमा उत्पादित पहिलो वाइन हो, हिंवा। स्वदेशी वाइनमा बजार र पारखी सबैमा चलेको वाइन पनि हिंवा नै हो। दुईदशक लामो इतिहास बोकेको हिंवा ऐंसेलु र चुत्रोबाट तयार गरिन्छ। लेकाली जंगलबाट खोजेर ल्याइने यिनै फलफूलबाट रेड तथा ह्वाइट वाइन तयार गरिन्छ। पूर्वी पहाडी जिल्ला संखुवासभामा स्थापित मकालु वाइन उद्योगले वार्षिक साढे तीन लाख बोतल वाइन उत्पादन गर्छ।
चेसुङ
लिम्बू भाषामा चेसुङको अर्थ हो कोसेली। वाइनलाई अतिथि स्वागतमा प्रयोग गर्नुपर्ने तर्कसहित तीनजुरे वाइन इन्डष्ट्री प्रालिले तीन वर्षअघि चेसुङ बजारमा ल्याएको हो। चेसुङ वाइनका केही फरक विशेषता छन्। जस्तो, यो वाइनमा यार्चागुम्बा, महलगायत जंगली जडीबुटीको सम्मिश्रण पाइने कम्पनीको दाबी छ। यो वाइनमा मिथानोल नभएको दाबी पनि गरिन्छ। कम्पनीले सुगर फ्रि वाइन पनि बजारमा ल्याएको छ। तेह्रथुममा प्रशोधन कारखाना रहेको कम्पनीले एक वर्षको 'एजिङ' पछि मात्र उत्पादन बजारमा ल्याएको दाबी पनि गरेको छ। अष्ट्रेलियन प्रविधिमार्फत तयार पारिने यो वाइनको मूल्य रु.३९० देखि रु.३५०० सम्म छ। चेसुङ ब्रान्डमा अंगुरको रेड वाइन, हर्वल हनी वाइन, फ्रुट्स वाइन र यार्सा वाइन उपलब्ध छ।
डिभाइन
रेड, ह्वाइट, हनी र प्रिमियर गरी चार स्वादमा उपलब्ध छ, डिभाइन वाइन। धादिङको नौबिसेस्थित प्रशोधन कारखानामा तयार हुने यो वाइन फलफूल, अंगुर, मसलाबाट तयार पारिन्छ। वार्षिक माग ६ लाख लिटर छ। यसको मूल्य रु.४१० देखि ५५० सम्म छ। स्वाद र गुणस्तरले ग्राहकको मन जित्न सफल डिभाइन वाइन नर्वेमा समेत निर्यात हुदै आएको छ।
किंग्स हिल
स्नोमेन वाइनरी प्रालिले किंग्स हिल वाइनमा विविधता पस्किएको छ। यो रेड र ह्वाइट दुवै स्वादमा उपलब्ध छ। रेड अन्तर्गत स्विट, सेमी स्विट र ड्राइ साथै ह्वाइटमा सेमी स्विट र स्विट स्वादमा उपलब्ध छ।
कम्पनीका अनुसार, किंग्स हिल वाइन जुम्लाको स्याउ र अंगुर, नासपाती, भुईंकटहरबाट उत्पादन गरिएको छ। काभ्रेको प्रशोधन कारखानामार्फत 'दक्ष प्राविधिकले अन्तर्राष्ट्रियस्तरको प्रविधिबाट' यो वाइन उत्पादन गरिएको छ। प्रति बोतल रु.४६० मा पाइने किंग्स हिल वाइन दुई वर्षअघि बजारमा आएको हो।
किंग्स हिल
पछिल्लो समय आक्रामक बजार विस्तार गरिरहेको वाइनमा पर्छ– विग मास्टर। रोयल काठमाडौं हिमालय वेभरेजको उत्पादन विग मास्टर को प्रशोधन कारखाना काभ्रेको साँगामा छ। पाँच वर्षअघि बजारमा आएको यो वाइन चारवटा ब्रान्ड र विग मास्टर स्विट, सेमी स्विट र ड्राइ स्वादमा उपलब्ध छ। यी ब्रान्डको बजार मूल्य रु.३९५ देखि ५९५ सम्म छ। एक वर्षभन्दा लामो 'फर्मेन्टेशन' बाट बजारमा ल्याउने भएकाले यो वाइन गुणस्तरीय तथा स्वादिलो हुने कम्पनीको भनाइ छ।
ओल्ड सिटी भ्यालेन्टिनो
पूर्णतः प्राकृतिक विधिबाट उत्पादित वाइन हो– ओल्ड सिटी भ्यालेन्टिनो। यो वाइन इम्पियार, मुन डान्स, विन्टर कोल्डर भ्यालेन्टिनो नाममा उपलब्ध छ। अंगुर तथा केराबाट उत्पादित वाइनको कारखाना धादिङको जीवनपुरमा रहेको छ। ओल्ड सिटी भ्यालेन्टिनो रु.३४० देखि रु.५७५ सम्ममा बजारमा पाइन्छ। दुर्गा वाइन उद्योग प्रालिको यो उत्पादन बजारमा रुचाइन थालेको उत्पादकको दाबी छ।
डाँडाघरे
पोखराको डाँडाघरे वाइनले स्वदेशी मात्र होइन विदेशी पारखी मनसमेत लोभ्याएको छ। हिल हट वाइनरीको यो उत्पादनमा मह, जडीबुटी र फलफूलबाट तयार पारिएका ६ प्रकारका वाइन बजारमा छन्।
लेले वाइन
स्वदेशी फ्लेवर पाइने डाँडाघरे वाइन अन्तर्गत आँगन, पिंढी, मझेरी, आँटी र तगारो ब्रान्डका बजार चर्चित छन्। आँगन ह्वाइट ड्राइ र ह्वाइट स्विटमा, पिंढी रेड स्विट र रेड ड्राई, मझेरी रेड सेमी स्विट, आँटी ह्वाइट सेमी स्विटमा उपलब्ध छ।