कार्यकारी अधिकृतलाई प्रशासकीय अधिकृतले कुटे
वीरगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई कार्यालयकै प्रशासकीय अधिकृतले कुटपीट गरेका छन् ।
नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रशासकीय अधिकृत रामदयाल यादवले २४ भदौ दिउँसो कार्यालयमै कुटपीट गरेका हुन् ।
नगरपालिकाका एक कर्मचारीका अनुसार करारमा नियुक्त भएका चालकहरुको तलब बृद्धि सम्बन्धी विषयमा कार्यकारी अधिकृत कोईरालाले प्रशासनको राय सुझाव टिप्पणी माग गरेपछि नगरपालिकाका दुई चालक राजेश क्षेत्री र राजेन्द्र नेपाली प्रशासकीय अधिकृत यादवको कक्षमा पुगेका थिए ।
तर उक्त कागजमा यादवले सिफारिस गर्न नमानेपछि क्षेत्रीले यादवको टेबुलमा मुक्का प्रहार गरे र टेबुलमा रहेको सिसा फोडिदिए । त्यसक्रममा दुबैबीच धक्काधक्की समेत भयो ।
यता चालकसँग धक्काधक्की भएपछि आक्रोशित बनेका प्रशासकीय अधिकृत यादव कार्यकारी अधिकृत कोइरालाको कार्यकक्षमा गई उनलाई कुटपिट गरेका थिए ।
घटना लगत्तै कार्यालयबाट बाहिरिएका यादवले आफूले कार्यकारी अधिकृतलाई हातपात नगरेको बताएका छन् ।
“मादक पदार्थ सेवन गरेर आएका चालकहरुले मसँग धम्कीपूर्ण शैलीमा कुरा गर्न थाले मैले रोक्न खोजेपछि उल्टै ममाथि हातपात गरे,” यादवले भने ।
आफूले स्थानीय स्वायत्त शासन ऐन विपरित भएकोले काम अघि बढ्न नसक्ने बताउँदा नियोजितरुपमा आफूमाथि आक्रमण भएको उनको भनाई छ ।
लामो समयदेखि लेखा शाखामा कार्यरत अधिकृत यादवलाई कोइरालाले गत २७ असारबाट प्रशासन शाखामा सरुवा गरेका थिए । त्यसपछि दुवै जनाबीच सम्बन्ध चिसिएको नगरपालिकाका कर्मचारीहरु बताउँछन् ।
नगरपालिकाकासूचना अधिकारी प्रकाश अमात्यले ठ्याक्कै के कारणले घटना भएको भन्ने आफूलाई थाहा नभएको भन्दै थपे, “रामदयालजी आक्रोशित भएर मलाई कुट्न कर्मचारी पठाउने भन्दै कार्यकारी अधिकृतको कार्यकक्षमा छिर्दै गरेको देखेको थिएँ । भित्र के के भयो, एकछिनपछि कार्यकारी अधिकृत मलाई रामदायलले कुटे भन्दै बाहिर निस्किए ।”
यसबारे कोईरालाले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।
घटनापछि बसेको नगरपालिकाका कर्मचारीको बैठकले घटनाका दोषिलाई स्थानीय स्वायत्त शासन ऐन अनुसार कारबाही गर्ने र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयसँग अनुरोध गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
-सुरेश बिडारी, वीरगञ्ज