सिरुटारको एक घरमै चितुवाले बच्चा जन्माएपछि
भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटारस्थित ललितजङ्ग थापाको घरमा चितुवाले बच्चा जन्माएपछि सिरुटार क्षेत्र आतङ्कित भएको छ ।
भूकम्पले माथिल्लो तला भत्किएपछि खाली भएको सिरुटारका थापाको घरको दोस्रो तलामा एक साताअघि आएको चितुवाले तीनवटा बच्चा जन्माएर राखेपछि यहाँका बासिन्दा आतङ्कित भएको स्थानीय प्रदीप कार्कीले जानकारी दिए ।
स्थानीयवासीले चितुवाका बच्चा देखेपछि प्रहरी र जिल्ला वन कार्यालयलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले चितुवाले त्यही घरमा आएर बच्चा जन्माएको बताउँदै
जिल्ला वन कार्यालयलाई यसबारे जानकारी गराएको र बच्चासहित चितुवालाई लैजान आग्रह गरेको बताए ।
जिल्ला वन कार्यालय भक्तपुरका निमित्त प्रमुख न्हुछेंकृष्ण श्रेष्ठले चितुवाको तीनवटा बच्चा देखिए पनि चितुवा आसपासको झाडीमा लुकेर बसेकाले समाउन समस्या परेको जानकारी दिए ।
उनले आजै वन विभाग र सदर चिडियाखाना गएर त्यससँग सम्बन्धित विज्ञलाई लगेर चितुवा समाउने प्रयास गरिने बताएका छन् । रासस