उपत्यकाबाट हटेन हैजा
हैजा जस्तो रोगलाई सामान्य रुपमा लिँदा काठमाडौं उपत्यकामा यसको प्रकोप ८२ वर्षदेखि रहँदै आएको छ । गत वर्ष मात्र उपत्यकाको कुलेश्वर, कालिमाटि, कलंकी, बल्खु र डल्लु क्षेत्रमा ७६ जना हैजाका बिरामीहरु भेटिएका थिए ।
१६ असार देखि १४ भदौ २०७३ सम्ममा ललितपुरमा ११०, काठमाण्डौमा १९, झक्तपुरमा १ र पहिचान हुन नसकेको ठाउँका ७ जना गरी एक सय ३७ जनामा हैजाको जिवाणु फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा. भीम आचार्यका अनुसार उपत्यकाको खानेपानीको स्रोत प्रदुषित हुँदा हैजाको संक्रमण बढेको हो । भूकम्पपछि त उपत्यकाको खानेपानीमा इकोलाई र कोलिफर्मको मात्रा अत्यधिक बढेको थियो ।
अघिल्लो वर्ष उपत्यकाका ७८ जना व्यक्तिमा हैजाको जिवाणु भिब्रियो कोलेरा देखापरेको थियो । त्यतिबेला विष्णुमतीको किनार, बल्खु, कुलेश्वर टेकु, बाफल क्षेत्रमा बढीमा मात्रामा देखिएको थियो भने यस वर्ष ललितपुरमा बढी देखिएको छ ।
१ बैशाखदेखि १४ भदौसम्ममा काठमाडौंमा मात्र १९ जना हैजाका बिरामी भेटिए । १ बैशाखदेखि ११ भदौसम्ममा ललितपुरमा ११० जनामा यो संक्रमण पाइयो, जसमध्ये सबैभन्दा बढी लगनखेलमा ३६ र भैसीँपाटीमा २६ जना संक्रमित भए ।
खानेपानीमा प्रदुषणको मात्रा
१६ असारदेखि २१ भदौसम्ममा इडिसिडिले उपत्यकाबाट संकलन गरेका १६९ पानीका नमूनामध्ये ललितपुर बंगलामुखीको ढुङ्गेधारा, ओकुबहाल पाटनको ट्याङ्कर र चिवाल सुनाकोठीको पानीमा हैजाको जिवाणु भेटिएको थियो ।
१२९ खानेपानीका स्रोतमध्ये १११ वटा स्रोतमा कोलिफर्म जिवाणु फेला परेको थियो भने ७९ मा इकोलाई जिवाणु भेटियो ।
हैजाबाट बच्ने उपायहरुः
उमालेको वा क्लोरिन राखेको पानी मात्र पिउने ।
सफा पानीले हात धुने ।
खानेकुरालाई छोपेर राख्ने ।
बासी सडेगलेको खानेकुरा नखाने ।
चर्पीमा मात्र दिसापिसाब गर्ने ।
-रामु सापकोटा