अख्तियारलाई सीमा र मर्यादामा रहन उपसमितिको सुझाव
काठमाडौं विश्वविद्यालय (केयू)को प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेप सम्बन्धमा छानविन गर्न गठित उपसमितिले आयोगलाई आफ्नो मर्यादा र सीमाभित्र रहन भनेको छ ।
व्यवस्थापिका संसद, सुशासन तथा अनुगमन समिति अन्तर्गतको छानविन उपसमितिले आयोग र विश्वविद्यालय दुवैलाई आफ्नो दायरा, मर्यादा र सीमाभित्र रहन सुझाव दिएको हो ।
अख्तियारले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षा सम्बन्धमा विज्ञ टोली सहित छानविन अनुसन्धान गर्नु गराउनु पूर्व विश्वविद्यालयलाई जानकारी गराउनुपर्नेमा सो नगरेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।
“विश्वविद्यालयकै पदाधिकारीले केयूसँगको समझदारीमा नै अख्तियारको संलग्नता भएको बताएपछि हस्तक्षेप भन्न सकिएन तर, कानूनबाट स्पष्ट दायरा तोकिएको निकाय आफ्नो मर्यादा र सीमा बाहिर गएको देखियो त्यसैले ‘उच्चतम पारदर्शीता कायम नभएको’ भनेका छौं,” उपसमितिका सदस्य सांसद नरसिंह चौधरीले भने ।
उनले उपसमितिको प्रतिवेदनमाथि समितिमा छलफल भएपछि थप सुझाव र निष्कर्ष आउनसक्ने बताए । “हामीले समितिलाई प्रतिवेदन बुझाएका छौं, यसमा छलफलपछि समितिले नयाँ निष्कर्ष निकाल्न र आवश्यक भएमा सम्बन्धित निकायलाई निर्देशन दिन सक्छ,” उनले भने ।
उनले छानविन टोलीको अनुसन्धानमा केहीले अख्तियारले विश्वविद्यालयमा हस्तक्षेप गरेको बयान दिएको र केहीले समझदारीमै भएको बताएको जानकारी दिए । “तर, दुवैपक्षले पारदर्शीता अपनाएको देखिएन,” चाधरीले भने ।
त्यसैगरी केयू चिकित्सा शास्त्रका एसोसिएट डिन डा भागवत नेपालले कानून विपरित आचरण गरेको भन्दै उनलाई विश्वविद्यालयले कार्वाही गर्न समेत प्रतिवेदनमा सिफारिस गरिएको छ ।
केयूको चिकित्साशास्त्र अन्तर्गत स्नातकोत्तर तहको प्रवेश परीक्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरेको सम्बन्धमा छानविन गर्न उपसमिति गठन भएको थियो ।
उपसमितिले आजको समितिको बैठकमा उक्त छानविनको प्रतिवेदन बुझाएको हो ।
उपसमितिमा सांसदहरु पदमनारायण चौधरी, उदय नेपाली, जनकराज जोशी, नरसिंह चौधरी र मिलनकुमारी राजवंशी छन् ।