आइएफजेद्वारा ‘हिमाल साउथएशियन’को प्रकाशन सुचारु गराउन सरकारसँग माग
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) ले ‘हिमाल साउथएशियन’ को प्रकाशन स्थगन भएकोमा चासो व्यक्त गर्दै पत्रिकाको सञ्चालन सुचारु गर्न आवश्यक प्रवन्धका लागि नेपाल सरकारसँग माग गरेको छ ।
“दक्षिण एशियामा हिमाल साउथएशियनको प्रकाशन स्थगन गराउने नेपाल सरकारको हरकतको आइएफजे निन्दा गर्छ,” आइएफजेले जारी गरेको विज्ञप्तिमाभनिएको छ, “कुनै पनि मिडियालाई ब्युरोक्रेसीबाट असहयोग हुनु प्रेस स्वतन्त्रताविरुद्धको कार्य हो र सरकारले यस मामिलामा तुरुन्तै जाँच गरी नियमनकारी निकायबाट मिडियालाई दबाबमा पार्ने काम नहोस भन्ने सुनिश्चित गर्नुपर्छ ।”
आइएफजेले साउथएशिया ट्रष्ट र हिमाल साउथएशियनसँग छलफल गरी पत्रिकाको निर्वाध सञ्चालन र बिना कुनै दबाब स्वतन्त्र मिडिया सञ्चालन हुने वातावरण बनाउन सरकारसँग माग पनि गरेको छ ।
आइएफजेको विज्ञप्तिमा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलाई उद्धृत गर्दै नेपालमा राज्य र नियमनकारी निकायहरुले खुल्ला समाजप्रतिको प्रतिवद्धतालाई निरन्तर बेवास्ता गरिरहेकोमा गम्भीर आपत्ति समेत व्यक्त गरिएको छ ।
काठमाडौंबाट २९ वर्षदेखि प्रकाशित भइरहेको दक्षिण एशियाली पत्रिका ‘हिमाल साउथएशियन’को प्रकाशक संस्था ‘साउथ एशिया ट्रष्ट’ले ८ भदौमा विज्ञप्ति जारी गर्दै ब्यूरोक्रेसीका विभिन्न अंगमार्फत दबाव दिई पत्रिकाको प्रकाशन स्थगित गराइएको जनाएको थियो ।