पहिरोले घर पुरिँदा एकैघरका चारजनाको मृत्यु
वर्षासँगै घरमाथिबाट आएको पहिरोले घर पुरिँदा कास्कीको लेखनाथ नगरपालिका–४ वैद्येपानी खरानीफाँटमा एकैघरका चारजनाको मृत्यु भएको छ ।
गएराति ११:३० बजेतिर घरमाथिबाट पहिरोले लक्ष्मी सुनारको घर पुरिँदा उनका १४ वर्षीय छोरा निशान सुनार, नौ वर्षीया छोरी रजिना सुनार, सात वर्षीया छोरी अन्जिला सुनार र अढाई वर्षीय नाति सलमान तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृतक सलमान तामाङ बुधबार मात्रै हेटौँडाबाट मावलीमा ल्याइएका थिए ।
पहिरोमा परी छोरीहरु कविता सुनार र सजिना सुनार सख्त घाइते भएकाले उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घरधनी लक्ष्मी सुनार र जेठी छोरी पट्टिको एक नाति सन्दीप सुनार अर्को घरमा सुतेकाले उनीहरु बाँच्न सफल भए ।
लक्ष्मीका श्रीमान् तीर्थबहादुर सुनार बुधबार दिउँसो मात्रै वैदेशिक रोजगारीका लागि साउदी अरब गएको प्रहरीले जनाएको छ ।
रासस