प्रहरीले गरायो निकाह
दाइजो नपुगेको भन्दै तोकिएको मितिमा जन्ती नलैजाने पर्साको सबैठवा–५ का अमरुल्लाह मियाँले प्रहरीको हस्तक्षेपपछि छोराको विवाह तय भएकै केटीसँगै गराएका छन् ।
पर्सा सबैठवा–५ का अमरूल्लाह मियाँका छोरा नसीम अख्तरसँग भारत बिहारको मैनाटार थाना, इनर्वाका समसुलहक मियाँकी छोरी आम्ना परवीनको १५ साउनमा विवाहको मिति निर्धारण गरिए पनि दाईजो नपुगेको भन्दै अमरुल्लाहले विवाहमा आलटाल गर्दै आएका थिए ।
बिवाह हुने टुङ्गो भएपछि केटीपक्षले रु ९० हजार नगद र नेपालमा रहेको ३ कठ्ठा जग्गा पास गरिदिएका थिए ।
वाचा गरेका बाहेक थप माग समेत पूरा गर्ने प्रतिबद्धता जनाए पनि केटा पक्ष विवाहका लागि नआएपछि केटीका बुवा समसुल हकले इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी गरेका थिए ।
उजुरीका आधारमा प्रहरीले बेहुला नसिम अख्तर र उनका बाबु अमरुल्लाह मियाँलाई १५ भदौमा पक्राउ गरेको थियो ।
पक्राउ गरी प्रहरीले सम्झाइबुझाई गरेपछि अमरूल्लाहले छोराको बिवाह समसुलकी छोरीसँग तय भए अनुसार नै गर्न सहमत भए । प्रहरीले समसुलकी छोरीलाई भारतबाट झिकाएर पोखरियास्थित जामे मस्जिदमा १७ भदौ शुक्रबार मुस्लिम परम्परा अनुसार निकाह (विवाह) गराएको छ ।
बिवाहको मिति तोकेर जन्ती नजानु सामाजिक व्यवहार सुधार ऐन विरुद्धको कार्य भएकोले सोही कसुरमा अमरूल्लाह र छोरा नसीम अख्तरलाई पक्राउ गरिएकोमा दुवै पक्ष बिवाह गर्न राजी भएपछि प्रहरीको रोहबरमा निकाह गराईएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
“केटा पहिला पनि विवाहको लागि तयार नै थियो । परिवारको दवावका कारणले समस्या भएको देखियो । पछि केटी पक्ष आएर कारबाही नगर्न भनेपछि हामीले बिवाह गराईदियौं,” प्रहरी उपरीक्षक श्रेष्ठले भने ।
बिवाह भईसकेको भए पनि केटीमाथि केटाका परिवारबाट कस्तो व्यवहार हुन्छ त्यसबारे प्रहरीले निगरानी राखिरहने प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
सुरेश बिडारी, वीरगञ्ज