‘सङ्ग्रहालय विज्ञान तथा बौद्ध सङ्ग्रह’ विषयको पढाइ शुरु
लुम्बिनी बौद्ध विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा ‘सङ्ग्रहालय विज्ञान तथा बौद्ध सङ्ग्रह’ विषयको पढाइ शुरु गर्न लागेको छ ।
दुई वर्ष अवधिमा अध्ययन पूरा हुने उक्त विषयमा एक हजार पूर्णाङ्कको पाठ्यक्रम विकास गरिएको छ ।
त्यसैगरी विश्वविद्यालयले ‘पुरातत्व तथा बौद्ध पुरातात्विक क्षेत्र’मा ‘पोस्ट ग्राजुएसन डिप्लोमा’ समेत सञ्चालन गर्ने उपकुलपति डा नरेशमान वज्राचार्यले जानकारी दिए ।
एक वर्ष समयावधिमा अध्ययन पूरा हुने उक्त विषयमा पाँच सय पूर्णाङ्कको पाठ्यक्रम विकास गरिएको छ ।
विसं २०६० मा स्थापित विश्वविद्यालयले विसं २०७० मा मात्र बौद्ध दर्शन तथा साहित्यमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गरेको थियो ।
विश्वविद्यालयले अध्ययन-अध्यापन शुरु गर्नुअघि नै काठमाडौँ उपत्यकाका पाँच बौद्ध सङ्घसंस्थालाई सम्बन्धन दिई कक्षा सञ्चालन गराएको थियो ।
रासस