थप समाचारसोमबार, २० भाद्र , २०७३

लुकाउँदै चोटहरु

सृजना श्रेष्ठ

भारतीय बेश्यालयमा कैयौं वर्षको यातना सहेपछि उद्धार गरिएका युवतीहरुलाई नेपाल फर्किएपछि पनि कठोर अवस्थाको सामना गर्नुपरिरहेको छ ।

११ वर्षकै उमेरमा आफन्तबाट दिल्लीको वेश्यालयमा बेचिएकी शान्तिलाई त्यो कहालीलाग्दो ‘नर्क’ बाट पाँच वर्षपछि उद्धार गरियो र घर फर्किइन् । तर स्वतन्त्र भएपछिको खुशी क्षणिक मात्र हुन पुग्यो ।

शान्तिलाई दिल्लीबाट उद्धार गरिएको अहिले सात वर्ष भइसकेको छ तर, घर फर्केलगत्तै पाएको सामाजिक अवहेलना र बहिष्कारले गर्दा अझै पनि उनलाई आफ्नो विगत लुकाउनु पर्छ ।

“उद्धार भएपछि निकै खुशी भएकी थिएँ, तर, त्यो खुशी धेरै समय टिकेन । आफूलाई केही नभएजस्तो देखाउन सँधै सचेत रहनुपर्छ,” शान्ति भन्छिन् ।

वेश्यालयको पहिलो रात नै उनी ४० वर्षीय पुरुषबाट बलात्कृत भइन् र त्यसै रात थप सातजनाले बलात्कार गरे । त्यसबेला बगेको रगतले कोठाको भूइँभरी साना पाइतलाका डोब बसेको उनी सम्झिरहन्छिन् । हरेक दिन कैयौं ग्राहकबाट गिजोलिने उनले धेरै पटक आत्महत्याको प्रयास पनि गरिन् ।

शान्ति जन्मे–हुर्केको सुर्खेतको बादी समुदायमा बेचबिखनको दर उच्च छ । उद्धारपछि ‘लाइट हाउस फाउन्डेसन’ ले उनलाई काठमाडौँ ल्याएर सिलाई—बुनाई तथा गहना बनाउने तालीम दियो ।

फाउन्डेसनका राजु सुन्दास भन्छन् “बेचबिखनबाट उद्धार गरिएकालाई जीवनउपयोगी तालीम दिन्छौं, उनीहरुलाई समाजमा पुनः समायोजित हुन सजिलो होस् भनेर ।”

आफ्नो विगत अरुले थाहा नपाउन् भनेर चनाखो रहिरहनु पर्ने शान्तिलाई आफनै व्यवसाय शुरु गर्न मन छ । समाजबाट बहिस्कृत हुनुको पीडा त छँदैछ त्यो भन्दा ठूलो पीडा त उनलाई दिल्ली पुर्‍याएर बेच्ने आफन्त जो सुर्खेतको गाउँमै छ उसलाई देख्दा हुन्छ ।

सन् २०१५ को युनिसेफको प्रतिवेदन अनुसार हरेक वर्ष कम्तीमा ७,००० नेपाली महिला भारतका वेश्यालयमा बेचिइरहेका छन् र त्यहाँ करिब २,००,००० नेपाली महिला छन् ।

शान्ति जस्तै ११ वर्षको उमेरमा भारतको वेश्यालयमा बेचिएकी बिमला उनका छिमेकी र परिवारका लागि भने अझै पनि भारतमा घरजम गरेर खुशीसाथ उतै बसेकी छिन् ।

बेश्यालयमा बेचिएकोे ७ वर्षपछि उद्धारपश्चात उनले भारतीय पुरुषसँग विवाह गरेको र पतिबाट समेत अत्यधिक हिंसा हुन थालेपछि छोरी लिएर काठमाडौं आइपुगेको बिमलाका परिवारलाई थाहा छैन ।

भारतबाट फर्किएपछि अहिलेसम्म परिवारका कसैलाई पनि भेटेकी छैनन् बिमलाले ।

“एकचोटि बेचिएपछि परिचय नै बदलिंदो रहेछ, उही मानिस भइँदो रहेनछ,” बिमला भन्छिन्, “मान्छेहरुले तपाइँको विगत कोट्याईरहन्छन् र घाउ बल्झाईरहन्छन् ।”

विमलाले आफू भारतमा बेचिएको कुरा कसैलाई भनेकी छैनन् र अब काठमाडौंमै बसेर भविष्य बनाउने अठोट छ उनको । विद्यार्थी होस्टेलमा काम पाएकी विमलाको यो दशैंमा मुग्लिनस्थित घर जाने योजना छ, त्यसबेलासम्म उनको हिम्मतले साथ दिन्छ, दिंदैन ।

सुन्दासका अनुसार बेचबिखनबाट उद्धार गरिएकालाई मानसिक पीडाबाट बाहिर निस्केर समाजमा पुनःस्थापित हुन लामै समय लाग्छ । “हामी उनीहरुलाई आश्रममा राखेर मनोबल उच्च बनाउन परामर्श दिन्छौँ,” उनी भन्छन् ।

विमला भन्छिन्, “मेरो विगत र छुट्टिएको परिवारका बारेमा घर गएर कसैलाई भन्ने छैन, यसमा मेरो कुनै दोष नभएपनि उनीहरुले थाहा पाए भने मेरै दोष देखाउँछन् ।”

कार्वाही गर्न गाह्रो
शान्ति र विमला दुवैले आफूलाई भारतमा बेच्ने आफन्त चिनेका छन्, । तर उनीहरु दुवैजना ती आफन्तलाई पुलिसमा बुझाउन चाहँदैनन् ।

“मलाई दिल्लीमा बेच्ने मान्छे सुर्खेतमा हाम्रो घर नजिकै बस्छिन्, उद्धार भएर घर फर्केपछि उनले मसँग माफी मागिन् । नातेदार पनि हुन्,” शान्तिले टाउको निहुराउँदै भनिन्, “उनले गर्दा मेरो जिन्दगी नर्क भो, तर म उनलाई सजाय दिन सक्दिन ।”

धेरै जसो नेपाली महिला आफनै नजिकका आफन्तबाटै बेचिन्छन् जसले गर्दा कानूनी प्रक्रिया झन् अप्ठयारो हुन्छ ।

सन् २०१४ र २०१५ मा नेपाल प्रहरीमा जम्मा १८५ मात्रै बेचबिखनका मुद्दा दर्ता भए जबकी २०१३ देखि २०१५ सम्म १७,००० महिला तथा बालबालिका बेचबिखनमा परेका थिए (राष्ट्रिय मानव अधिकार आयोगका अनुसार)

राष्ट्रिय मानव अधिकार आयोगका कमल थापा क्षेत्री भन्छन्, “सामान्यतया पीडित र उसका परिवार अदालत बाहिरै मुद्दाको किनारा लगाउँछन् । यसले गर्दा, पुलिसमा दर्ता हुने मुद्दा संख्या निकै कम भएको हो ।”

सार्वजनिक भइने डर, क्षतिपूर्ति नपाइने र ढिलो साथै झण्झटिलो कानूनी प्रक्रियाका कारण पीडितले मुद्दा दर्ता गराउन नचाहने क्षेत्रीको भनाई छ ।

त्यसमाथि धेरै जसो पीडक आफन्त हुन्छन् जो कामको प्रलोभन देखाएर महिलालाई फसाउँछन् र उद्दार गरिएका महिला मौन रहन रुचाउँछन् ।
(नाम परिवर्तन गरिएको छ)

प्रतिकृया दिनुहोस