मदर टेरेसा सन्त घोषित
भारतमा गरीबहरुका लागि जीवन अर्पेकी ‘नन’ मदर टेरेसालाई भ्याटिकन सिटीमा आयोजित एक समारोहमा ‘सन्त’ घोषणा गरिएको छ ।
आज, आइतबार सेन्ट पीटर स्क्वायरमा दशौं हजार श्रद्धालुका अगाडि पोप फ्रान्सिसले उनलाई सन्त घोषणा गरेका हुन् ।
भारतका विदेशमन्त्री सुष्मा स्वराज, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, बंगालका मुख्यमन्त्री ममता बनर्जी पनि उक्त कार्यक्रममा सहभागी थिए ।
अल्वानीयामा जन्मेकी मदर टेरेसाको सन् १९९७ मा ८७ वर्षको उमेरमा भारतमा निधन भएको थियो । तर, उनलाई सम्झेर प्रार्थना गर्दा दुई जना विरामीहरु चामत्कारिक रुपमा निको भएको भन्दै भ्याटिकनले उनलाई सन्त घोषणा गरेको हो । सन्तको उपाधि प्राप्त गर्न कम्तीमा पनि दुईवटा चमत्कार गर्नु अनिवार्य हुन्छ ।
भ्याटिकनको दाबी अनुसार सन् २००२ मा पेटमा ट्यूमर भएकी भारतीय महिला र २००८ मा ब्रेन ट्यूमर भएकी ब्राजिलकी महिलाले मदर टेरेसालाई सम्झेर प्रार्थना गर्दा उनीहरुको रोग चमत्कारिक रुपमा ठिक भएको थियो ।
यद्यपी केही चिकित्सकहरुले ती दुई महिलाहरु प्रार्थनाले नभई औषधी र उपचारले निको भएको दाबी गरेको सीएनएनले उल्लेख गरेको छ ।
मदर टेरेसालाई सन् २००३ मा पोप जोन पल द्वितीयले ‘धन्य’ घोषित गरेका थिए जुन सन्त बनाइनु अघिको चरण हो ।
उनलाई कोलकाताका गरीब बस्तीमा गरेको सेवाका लागि शान्तिका लागि नोबेल पुरस्कारले सम्मानित गरिएको थियो ।
सन् १९५० मा उनले ‘मिशनरीज अफ च्यारिटी’ शुरु गरेकी थिइन् ।
भ्याटिकन सिटीमा सन्त घोषणा हुँदै गर्दा कलकत्तास्थित ‘मिशनरीज अफ च्यारिटी’ मा उत्सव मनाइँदैछ । यो च्यारिटीमा विश्वभरका तीन हजारभन्दा बढी नन संलग्न छन् र संसारका धेरै देशहरुमा यसका शाखा छन् ।
कुष्ठ रोगीका बस्ती, गरीबका भान्सा, विद्यालय, आश्रम, अनाथ बालबालिकाका लागि घर जस्ता सेवाहरु मदर टेरेसाले शुरु गरेकी थिइन् ।
-एजेन्सीहरुको सहयोगमा