विश्वव्यापी काेराेनाभाइरस महामारी

५५००६०७

हालसम्म संक्रमित

२३०२०६९

निको भएका

३४६७२१

मृत्यु हुनेको संख्या

नेपाल

६०३

जम्मा संक्रमित

८७

निको भएको

मृत्यु

अपडेटः सोमबार, १२ जेठ २०७७ । १०ः०० बजे बिहान | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

समाचार शुक्रबार, असार ९, २०७४

पहिरोले प्रहरी भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु, दुई बेपत्ता

हिमालखबर

नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोले एउटा प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ भने दुई बेपत्ता भएका छन् । पहिरोले एउटा ट्रक समेत पुरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिरोले भ्यान बगाउँदा भ्यानमा रहेका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरीक्षक २९ वर्षीय निश्चल तामाङ र गाडीका चालक प्रहरी जवान ३० वर्षीय दीपककुमार मास्केको शव भेटिएको छ ।

तामाङ धादिङ जिल्ला खनिया गाउँपालिका–४ का र मास्के बारा जिल्लाको हरैया–६ का हुन्। उनीहरुको शवलाई सडकभन्दा तल नदीमाथि भिरमा पहिरोले किचिएको अवस्थामा फेला पारेको घटनास्थलमा रहेका प्रहरी उपरीक्षक दीपक थापाले बताए । गाडीका चालक मास्के र प्रहरी सहायक निरीक्षक तामाङ गाडीको अघिल्लो सिटमा थिए । 

पहिरोमा परी इलाका प्रहरी कार्यालय मुग्लिनका जवान २१ वर्षीय सन्दीप कार्की र ३१ वर्षीय लीलाबहादुर चेपाङ पनि बेपत्ता भएका छन् । कार्की तनहुँको रुपाकोट–३ का र चेपाङ गोरखा मकैसिङ–१ का हुन्। उनीहरुसँगै प्रहरीको ना १ झ १३९० नंको भ्यान र दुई थान एसएलआर हतियार बेपत्ता भएका छन् ।

प्रहरी उपरीक्षक थापाले शुरुमा सडकमै पहिरोमा भ्यान पुरिएको अनुमान गरिएको भए पनि शवलाई भिरमा भेटिएपछि गाडी त्रिशूलीमा खसेको अनुमान गरिएको बताए । पहिरोले भिरमा अड्काएको ना ५ ख ७८२७ नंको ट्रकका सहयोगी चालक सिजल लामालाई उपचारका लागि आँबु खैरेनी लगिएको छ भने चालक रामकुमार लामा सकुशल रहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट २.५ किमी नारायणगढतर्फ पहिरो खसेको हो । 

सवारीसाधन र बेपत्ता भएकाको रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले खोजी कार्यलाई तीव्रता दिएका छन् ।

सोही सडकको चारकिलोमा खसेको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको छ । दुई पहिरो बीचमा रहेका सवारीसाधनलाई नारायणगढतर्फ पठाइएको प्रहरी प्रमुख थापाले बताए । 

मुख्य घटनास्थलमा खसेको पहिरो भने पन्छाउने क्रम जारी रहेको छ । राति ९ः४० बजे कालीखोलाको मुखमा खसेको पहिरो पन्छाउन नपाउँदै चारकिलोमा पहिरो खसेको थियो । चारकिलोको पहिरो पन्छाउन नसकेपछि फर्किने क्रममा सो ठाउँमा पहिरो खसेर गाडी दुर्घटना भएको हो । रासस 

 

प्रतिकृया दिनुहोस