फुङलिङमा जताततै पहिरो, चारको मृत्यु
बर्षासँगै गएको पहिरोमा पुरिएर ताप्लेजुङ सदरमुकाम फुङलिङमा एकै परिवारका तीनजनाको ज्यान गएको छ ।
घरमा सुतिरहेको अवस्थामा गएको पहिरोमा पुरिएर स्थानीय टीका मगरका श्रीमती, छोरा र छोरीको मृत्यु भएको हो ।
मध्यरातमा पहिरोले घर वगाँउदा मृत्यु भएका उनीहरुको शव विहान मात्रै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा निकालिएको थियो ।
यसैगरी फुङलिङ ८ की माइली सुब्बा घरवाट भाग्ने क्रममा झरेको पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । अर्की कान्छी सुब्बा घाइते भएकी छन् ।
शुक्रवार राति गएको पहिरोले ताप्लेजुङका विभिन्न स्थानका दर्जनौँ घरमा क्षति पुगेको छ ।
ठाउँ ठाउँमा पहिरो झरेपछि मेची राजमार्ग समेत अवरुद्ध बनेको छ ।
पहिरोका कारण फुङलिङ नगरपालिका–८ का भुवानीशङ्कर नेपाल, अग्निप्रसाद भण्डारी, टेकनाथ दाहाल, डिल्लीराम अधिकारी, राजकुमार मगर, जगतबहादुर मगर, गुरुप्रसाद विश्वकर्मा सोमबहादुर विक र गङ्गामाया भट्टराईको घर बगाएको छ ।
फुङलिङ –२ केनिममा नेत्रप्रसाद भट्टराईसहित अन्य छ घरमा पहिराले क्षति पुर्याएको स्थानीयवासीले बताएका छन् ।
सोही क्षेत्रमा नै पर्ने अँधेरी भन्ने ठाउँमा दुवैतर्फ पहिरो झरेपछि त्यहाँका तीन परिवार सुरक्षित स्थानमा पुग्न समेत सकेका छैनन् ।
गए राति करिब १ बजेदेखि झरेको पहिराले नगरपालिका–९ सदरमुकाम नजिकैको कफी हाउस क्षेत्रका १० घरमा पनि क्षति पुर्याएको छ ।
पहिरोग्रस्त क्षेत्रमा पुग्न सडक अवरुद्ध रहेकाले उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
पहिरो गएका कारण स्थानीयावासी रातभर सुरक्षित स्थानमा जाग्राम बसेका थिए । अहिले पनि यस क्षेत्रमा वर्षा जारी छ भने पहिरो पनि झरिरहेको छ ।
पहिरोले धेरैका घरमा क्षति पुर्याउनुका साथै दर्जनौ पशु चौपाया बगाएको छ भने खेतबारी नै बगाएपछि नगरपालिकावासीमा रुवाबासी चलेको छ ।
लक्ष्मी गौतम