द्वन्द्वकालमा नष्ट घरजग्गाको पुनर्व्यवस्थापनका लागि आयोग गठन गर्न निर्देशन
व्यवस्थापिका–संसद्अन्तर्गतको सामाजिक न्याय तथा मानवअधिकार समितिले द्वन्द्वकालमा नष्ट भएका घर जग्गासम्बन्धी प्रमाणकोे पुनर्व्यवस्थापन गर्न ‘समस्या समाधान आयोग’ गठन गर्न निर्देशन दिएको छ ।
समितिको १७ भदौमा बसेको बैठकले द्वन्द्वकालका समस्या समाधान गर्न गाउँस्थित शान्ति समितिको सिफारिसमा समस्या समाधान आयोग गठन गरी समस्या समाधान गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय र शान्ति तथा पुनःनिर्माण मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले आवश्यक ऐन संशोधन गरी द्वन्द्वकालमा विद्रोही पक्षबाट भएका घरजग्गा पासलगायत लेनदेनसम्बन्धी कार्यबाट सिर्जित समस्या समाधान गर्नुपर्ने ठहर गरेको छ ।
त्यसका लागि गाउँस्थित शान्ति समितिको सिफारिसमार्फत केन्द्रस्तरीय प्राविधिकसहितको राजनीतिक दलका प्रतिनिधि रहेको आयोग निर्माण गरी सोको सुझावका आधारमा उक्त समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले काभ्रे जिल्लाका अजित मिजारको रहस्यमय मृत्युका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको यथार्थ स्थिति सङ्कलन गरी प्रतिवेदन पेस गर्न सांसद कमला दोङको संयोजकत्वमा नरभान कामी, ज्ञानुदेवी गैरे, खड्गबहादुर बस्याल र दुलारी हरिजन रहनुभएको पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
समितिका सभापति सुशीलकुमार श्रेष्ठले द्वन्द्वकालमा नष्ट भएका घरजग्गासम्बन्धी प्रमाणकोे पुनव्र्यवस्थापन गर्न ‘समस्या समाधान आयोग’ लगायतका विषयमा छलफल भएको बताए ।
रासस