भारतमा काम गरेर फर्किदै गरेका नेपालीको हत्या
भारतबाट काम गरेर फर्किएका एक नेपालीको बाँके कोहलपुरमा हत्या भएको छ भने अर्का एक वीरामी परेका छन् ।
बाटोमै चिनजान गरेका अपरिचितले दिएको ‘कोकाकोला’ खाएपछि सल्यान काप्रा–४ ज्यामिरे बजार नजिकका शितल रानाको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।
त्यस्तै उनका भाइ ३० वर्षीय वीरबहादुर राना विरामी परेका छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।
वीरबहादुरका अनुसार भारतको मनालीमा काम गरेर फर्कदै गरेका उनीहरु चाडपर्व नजिकिएपछि घर फर्किएका थिए । बाटोमै चिनजान गरेका व्यक्तिले ‘कोक’ खुवाएपछि आफूलाई केही थाहा नभएको र ब्युँझदा दाईको मृत्यु हुनुका साथै ११ हजार रुपैयाँ र दुईवटा मोबाईल फोन लुटिएको वीरबहादुरले बताए ।
कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेशप्रसाद काफ्लेका अनुसार आफ्नो घर पनि सल्यान भन्दै चिनजान गरेका दुई व्यक्तिले १६ भदौ दिउँसो सल्यान जाने रात्री बस चढ्न जाने भन्दै कोहलपुर–१० स्थित सिक्टा नहर नजिक पुर्याई ‘कोक’ खुवाएका थिए । उक्त कोकमा विषादी मिसाइएको हुन सक्ने डिएसपी काफ्लेले बताए ।
शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल पठाइएको छ ।
चाडपर्व नजिकिएसँगै नेपालगञ्ज–रुपैडिहा सीमानाका भएर आउने नेपालीहरु वर्षेनी लुटिने गरेका छन् ।
केही भारतमै लुटिन्छन् भने केही नेपालमै आएर पनि लुटिने गरेका छन् । विशेषगरी चिसो पेयपदार्थमा नशालु पदार्थ मिसाएर लुट्ने गरेको प्रहरीको भनाई छ ।
केशव राना, कोहलपुर