धम्बोझीमा राखिएको राजा वीरेन्द्रको सालिक हटाइयो
नेपालगञ्जको धम्बोझी चोकमा हिजो, १६ भदौमा ‘राष्ट्रवादी युवा समूह’ ले राखेको स्व. राजा वीरेन्द्र सालिक राति प्रहरीले हटाएको छ ।
राप्रपा नेपाल र शिव सेना निकट यूवा समूहले धम्बोझी चोकमा हिजोे सालिक राखेको थियो । यसअघि त्यहाँ रहेको राजा वीरेन्द्रको सालिक दोस्रो जनआन्दोलनका बेला आन्दोलनकारीले हटाएका थिए ।
प्रहरीले राति करिब २ बजे वीरेन्द्रको अर्धकदको सालिक हटाएको हो । सालिक हटाउने क्रममा अवरोध गर्न खोज्ने करिब १० जनालाई नियन्त्रणमा लिएको छ ।
सालिक स्थापना लगत्तै प्रहरीले हस्तक्षेप गरी हटाउने प्रयास गरे पनि स्थिति तनावग्रस्त भएपछि प्रहरी पछि हटेको थियो । त्यसक्रममा प्रहरीले लाठी चार्ज गर्दा केही व्यक्ति घाइते समेत भएका थिए ।
धम्बोझीमा पछिल्लो समय राखिएको राजा वीरेन्द्रको सालिक नहटाउन भन्दै राप्रपा नेपालले विज्ञप्ति जारी गरेको थियो भने नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका बाँके समितिले संयुक्त विज्ञप्ति जारी गर्दै वीरेन्द्रको सालिक राखिएकोमा विरोध गरेका थिए ।
प्रहरीले उक्त सालिक सुरक्षित राखिएको जनाएको छ ।