टिप्पणी शुक्रबार, भदौ १७, २०७३

गाईजात्राबारे भ्रम

वसन्त महर्जन

गाईजात्रा र यस वरिपरिका दिनमा पर्ने सबै पर्वलाई 'गाईजात्रा' भन्ने गरेबाट भ्रममाथि भ्रम सिर्जना हुन गएको पाइन्छ।

नेवार समुदायमा प्रचलित गाईजात्रा पर्वको उद्देश्य हास्यव्यङ्ग्य र रमाइलो हो भन्ने आम बुझाइ बन्न पुगेको छ। यस पर्वको अवसरमा राष्ट्रियस्तरका लेखक तथा कलाकार संलग्न विभिन्न हास्यव्यङ्ग्य कार्यक्रमहरू प्रज्ञा प्रतिष्ठानलगायतका मञ्चमा आयोजना हुनु यही बुझाइको परिणाम हो। नेपाली पत्रपत्रिकाहरूले पनि केही दशकयता हास्यव्यङ्ग्य सामग्री भएका गाईजात्रे अंक निकालिरहेका छन्। 

पश्चिम नेपालका कुमाले समुदायले रमाइलोका लागि उल्टोपाल्टो वाद्यवादन गरेर मनाउने भैलो भनिने पर्वलाई गाईजात्रासँग जोडेर 'भाँडभैलो' नामको म्यागेजिन नै प्रकाशन (हाल बन्द) भएबाट गाईजात्रा पर्वबारे नेपाली जनमानसमा कस्तो सन्देश प्रवाह भइरहेको छ भन्ने स्पष्ट हुन्छ। तर, वास्तवमा शोकसँग सम्बन्धित सांस्कृतिक पर्व हो, गाईजात्रा।

वास्तविक गाईजात्रा
आधिकारिक भनिएका कतिपय प्रकाशनहरूमा कान्तिपुरका राजा प्रताप मल्लले छोराको देहान्त हुँदा शोकाकुल बनेकी रानीलाई 'तिम्रो छोरा मात्र मरेको होइन, कति धेरै मान्छे मरेका छन्' भनेर बुझाउन गाईजात्रा पर्व शुरु गरेको उल्लेख पाइन्छ। तर, तत्कालीन इतिहास अध्ययन गर्दा त्यसरी जात्रा–पर्व चलाउन सक्ने राजाको हैसियत देखिन्न।

कान्तिपुरमा सीमित प्रताप मल्ल अन्य राज्यसँग शत्रुवत् सम्बन्ध भएका कारण सबै नेवार समाजमा उनको वर्चश्व थिएन। त्यसबाहेक शाक्य, बज्राचार्य, उदासलगायतका बौद्ध नेवारहरू गाईजात्रामा अहिले पनि संलग्न हुँदैनन्।

'सायाः' भनिने गाईजात्रा लिच्छविकालमै शुरु भएको गोपालराज वंशावलीमा छ, जसको पछिल्लो सम्पादन जयस्थिति मल्लको समयमा भएको थियो।

देशका विभिन्न भागमा छरिएका नेवार समुदायले सामूहिक रुपमा मनाउने गाईजात्रामा एकरुपता पाइँदैन, तर सबैको उद्देश्य मृत्युसँग सम्बन्धित हुन्छ। अपवाद, कीर्तिपुरमा मृतकको घरका साथै नयाँ घर बनाएकाहरूले पनि गाई निकालेर नगर परिक्रमा गर्ने प्रचलन छ।

गाईजात्राको अघिल्लो दिन पर्ने जनैपूर्णिमामा बाहुन–क्षेत्री समुदायले जनै फेर्छन् भने नेवारहरू भ्यागुतालाई भोजन गराउँछन्। त्यही दिनदेखि नेवार बौद्ध समाजमा 'बाहाः चाःह्यू वनेगु' भनेर आफ्नो क्षेत्रका बौद्ध विहारहरू घुम्ने, 'बहीद्यः ब्वयेगु' भनेर विहारहरूमा मूर्तिहरू प्रदर्शन गर्ने चलन छ।

प्रदर्शनीमा राखिएका मूर्तिलगायतका कलाकृतिको अवलोकनमा बसन्तपुरस्थित कुमारीघरकी जीवित देवी कुमारी समेत सहभागी हुन्छिन्। गाईजात्रासँग यी गतिविधिको कुनै सम्बन्ध हुँदैन।

नेवार समाजमा 'गुँपुन्हि' भनिने जनैपूर्णिमालाई गाईजात्राकै पर्यायवाचीको रुपमा बुझ्दा भ्रम सिर्जना भएको छ। यसरी नै 'गु' ले नौ अङ्कसँग सम्बन्ध राख्ने बुझ्ााइका कारण नेपाल सम्वत् अनुसार नवौं महीनामा पर्ने, नौ दिन मनाइने, नौ प्रकारको गेडागुडीको क्वाति (क्वाँटी होइन) बनाएर खानुपर्ने जस्ता भ्रमहरू रहेका छन्। तर, गुँला महीना नवौं नभई दशौं हो र यो पर्व एकै दिनमा सकिन्छ। त्यस्तै, क्वातिमा नौ किसिमकै गेडागुडी चाहिन्छ भन्ने होइन।

गाईजात्रामा मृतकको नाममा गाई तथा गाईको रुप धारण गरेका मान्छेहरूले नगर परिक्रमा गर्ने क्रममा रामायण जान्नेले मृतकको गुण वर्णन गर्दै तयार पारेको काव्यात्मक विवरण बाजागाजाका साथ गाउने चलन छ।

गाउनेहरू प्रायः मृतकको परिवारजन र आफन्त नै हुने भएकोले उनीहरू गाउँदागाउँदै भक्कानिएर रुन्छन्। बाटोमा यस्तो कारुणिक दृश्य देख्नेहरूका आँखा रसाउनु अस्वाभाविक भएन। यस्तो संस्कृतिलाई हास्यव्यङ्ग्यको रुपमा लिनु भनेको यस पर्वलाई नबुझ्नु हो।

जात्रा–पर्वकै जात्रा
वास्तवमा, हास्यव्यङ्ग्य गाईजात्रा नभई रोपाइँजात्रा नामको छुट्टै सांस्कृतिक पर्वसँग सम्बन्धित छ। गाईजात्रा वा त्यस अघि–पछि जहिले परे पनि रोपाइँजात्रामा हास्यव्यङ्ग्यको प्रचुर प्रयोग हुन्छ। यो जात्रामा रमाइलोका लागि पुरुषहरू महिलाको भेषभुषामा देखिन्छन्।

अहिले त त्यसैको सिको वा भ्रम केले हो, रोपाइँजात्राको दिन काठमाडौंमा तेस्रोलिङ्गीहरूको पनि र्‍याली देखिन थालेको छ, जुन कुनै पनि अर्थमा युक्तिसंगत छैन। एकभन्दा बढी सांस्कृतिक गतिविधि एकै दिन वा एउटै समयमा पर्दा एउटै नामले चिन्ने–चिनाउने प्रवृत्तिले सांस्कृतिक ज्ञान बढाउँदैन बरु भुलभुलैयामा पार्छ र विकृति निम्त्याउँछ।

नेपाली प्राज्ञिक क्षेत्रमा सांस्कृतिक अध्ययनमा वर्णनात्मक प्रवृत्ति बढी छ, जसको प्रभावबाट गैर–प्राज्ञिक क्षेत्र अछुतो रहने कुरै भएन। अचेल तीजको दर खाने दिन आउनुभन्दा एक महीना अघिबाटै भोजभतेर शुरु भएको देखिन्छ।

गाईजात्राको सन्दर्भमा एक नेपाली महिलाले दर खाई नाचगान गरेर गाईजात्रा मनाइन्छ भनी दिएको जवाफले हाम्रो सांस्कृतिकचेत कति कमजोर भइसकेको छ भन्ने प्रष्ट पार्छ।

प्रतिकृया दिनुहोस