मध्यपूर्व र मलेशियाका लागि राहदानी शुल्क घट्यो
सरकारले मलेशिया तथा मध्यपूर्व एशियाका कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, लेवनान, इराक, इरान, कुवेत, इजरायल, सिरिया, जोर्डन र यमनमा रहेका नेपालीलाई राहदानी वापत लाग्ने शुल्क घटाएको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले मलेशिया र मध्यपूर्ब एशियाली देशमा रहेका नेपालीका लागि राहदानी शुल्क घटाएर ५० अमेरिकी डलर कायम गरेको हो । ती मुलुकमा रहेका नेपालीले यसअघि राहदानी शुल्क ८० अमेरिकी डलर तिर्दै आएका थिए ।
वैदेशिक रोजगारमा ती मुलुकमा रहेका नेपालीलाई आर्थिक बोझ कम होस् भन्ने अभिप्रायले परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपाल सरकारले उक्त निर्णय गरेको मन्त्रालयले जनाएको छ । उक्त निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि लागू हुनेछ ।