खाना पकाउने ग्यासको मूल्य घट्यो
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ ।
चाडबाडको अवसर पारेर प्रतिसिलिन्डर मूल्य रु ५० घटाइएको निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए । उनका अनुसार अब उपभोक्ताले प्रतिसिलिन्डर ग्यास रु एक हजार ३२५ मा किन्न सक्नेछन् । यसअघि उपभोक्ताले प्रतिसिलिन्डर ग्यासको रु एक हजार ३७५ तिर्दै आएका थिए ।
निगमले बिहीबार रातिदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरिएको जनाएको छ । आपूर्ति मन्त्रालयले यसअघि नै ग्यासको मूल्य घटाउने योजना बनाएको थियो ।
खाना पकाउने ग्यासको मूल्य घटे पनि पेट्रोलियम पदार्थको मूल्य भने तत्काल नघट्ने प्रवक्ता खनालले बताए । निगमलाई आजसम्म खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु १११ नाफा थियो ।