चीन र भारतका लागि राजदूत सिफारिस
सरकारले चीन र भारतका लागि राजदूतको सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले चीनका लागि पूर्व मुख्य सचिव लिलामणि पौडेल र भारतका लागि दीपकुमार उपाध्यायलाई नेपालको राजदूतमा सिफारिस गरेको हो ।
यसअघि पनि भारतको राजदूत रहिसकेका उपाध्यायलाई केपी ओलीको नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो ।
पूर्व मुख्य सचिव पौडेल भने तिब्बतको महावाणिज्यदूत भइसकेका पूर्व प्रशासक हुन्।
अब दुबैको संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त गरिनेछ ।
योजना आयोगमा श्रेष्ठ
यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा राष्ट्र बैंकमा कार्यरत मीन बहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।
बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेल र परराष्ट्र्र सल्लाहकारमा डा. ऋषि अधिकारीलाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।