स्वास्थ्यमन्त्री थापालाई गंगामायाले भनिन, ‘छोराका हत्यारालाई कार्वाही गरी न्याय दिनुस्’
स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पतालमै अनशनरत गंगामाया अधिकारीलाई भेटेका छन् ।
मन्त्री थापाले गंगामायाको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिएका थिए । त्यसक्रममा चिकित्सकले थापासँग गंगामायाको परिचय गराएपछि उनले आफ्ना छोराका हत्याराहरुलाई कारबाही गरी न्याय दिन माग गरेकी छन् ।
छोराका हत्यारालाई कारबाही गर्ने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पनि पुर्याइदिन भन्दै गंगामायाले थपिन, “मेरो छोरा मार्ने अपराधीलाई कानूनी दायरामा ल्याउन सक्नुहुन्छ भने ल्याइदिनुस् । सक्नुहुन्न भने मलाई कात्रो बेर्न दिनुस् ।”
मन्त्री थापाले आजै मन्त्रिपरिषदको बैठक बस्ने भएकाले आफूले यसबारेमा कुरा राख्ने बताए । गंगामायाको हात समाएर उनले भने, “संयोगले आजै छलफल छ म यो कुरा त्यहाँ राख्छु र फेरि भेट्न आउँछु ।”
मन्त्री थापाले अस्पतालका विभिन्न कक्षको निरीक्षण गर्नुका साथै अस्पतालमा सुधारका लागि सय दिनको कार्ययोजना प्रस्तुत गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् ।
उनले अस्पताल सफा राख्न समेत मन्त्रीले नै भन्नुपर्ने अवस्था आउन नदिन पनि सचेत गराएका थिए ।