संसद्बाट चार विधेयक पारित
व्यवस्थापिका–संसद्ले कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेको छ ।
संसद्को आजको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक परित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीराज काफ्लेले कर्मचारी सञ्चय कोषको रकम ऊर्जाको विकासलगायत सामाजिक सुरक्षाका क्षेत्रमा लगाउन विशेष कार्ययोजना आवश्यक रहेको भनी सदनको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले विधेयकमा सामाजिक सुरक्षाको भाव पैदा गरेको तथा कोषले आफैँ वा अरु सङ्घसंस्थासँग मिलेर ऊर्जालगायत विभिन्न उत्पादनका क्षेत्रमा लगानी गर्ने वातावरण तय गरेको जानकारी दिए ।
लेखापरीक्षण पहिलो संशोधन विधेयक पनि पारित
अर्थ समितिको प्रतिवेदनसहितको लेखापरीक्षण (पहिलो संशोधन) विधेयक, २०७३ सदनले आज पारित भएको छ ।
उक्त प्रस्तावमा उठाइएको प्रश्नको जवाफ दिँदै मन्त्री महराले लेखापरीक्षणसम्बन्धी सम्पूर्ण विषयलाई सरकारी लेखापरीक्षणको दायरामा ल्याउने प्रयास गरिएको बताए ।
नेपाल राष्ट्र बैंक दोस्रो संशोधन विधेयक पारित
व्यवस्थापिका–संसद्ले नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) विधेयक, २०७३ लाई पारित गरेको छ ।
विधेयकमाथिको छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसदले भाग लिएका थिए । बैठकमा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महराले सामन्तवादी अर्थतन्त्रलाई समाजवादी अर्थतन्त्रमा जान संविधानले बाटो खोलेको भन्दै थपे, “राष्ट्र बैंकको पूँजी वृद्धि गरिएको, बैंकको सेवालाई जनतातर्फ फर्काइएकाले विधेयकमा धेरै नयाँ विशेषता बनेको छ, यसले राष्ट्र बैंकको क्षमतामा समेत वृद्धि गर्नेछ ।
निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक
निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक, २०७३ पनि सदनबाट बहुमतले पारित भएको छ ।
उक्त विधेयकमाथिको छलफलमा नेकपा (माओवादी केन्द्र) का सांसद जनकराज जोशी र नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले भाग लिएका थिए ।