नेपालगञ्जमा राजा वीरेन्द्रको सालिक राखिएपछि झडप
नेपालगञ्जको धम्बोजी चोकमा स्व. राजा वीरेन्द्रको सालिक पुनःस्थापित गरिएपछि केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको छ ।
यसअघि धम्बोजीस्थित चोकमा रहेको राजा विरेन्द्रको सालिक दोस्रो जनआन्दोलनका क्रममा आन्दोलनकारीले त्यहाँबाट हटाएका थिए ।
त्यसपछि राष्ट्रिय झण्डामात्रै राखिंदै आएको उक्त स्थानमा आज ‘राष्ट्रवादी युवा समूह’ ले प्रहरीलाई झुक्याउँदै राजा विरेन्द्रको अर्धकदको सालिक राखेको हो ।
चोकमा राखिएको झण्डा झुत्रो भएकोले फेर्ने भन्दै केही युवाहरुले प्रहरीसँग अनुमति लिएर झण्डा फेर्न जाँदा लुकाएर ल्याएइएको राजा विरेन्द्रको अर्धकदको सालिक पनि स्थापित गरेको बांकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानाकारी दिए ।
शालिक राखिसकेपछि ‘राजा आउ देश बचाऊ’ भन्दै उक्त समूहले केही बेर नाराबाजी समेत गर्यो भने त्यसक्रममा प्रहरीसँग झडप पनि भयो ।
अहिले भने स्थिति तनावग्रस्त नरहेको र एउटा समूहले चोक नजिकै नाराबाजी गरिरहेको प्रजिअ पन्थले बताए ।
“त्यहाँ कसैको सालिक राख्ने वा नराख्ने भन्ने राज्यले निर्णय गर्नुपर्छ । कुनै समूहको मन लाग्यो भन्दैमा कसैको पनि सालिक वा अरु केही पनि राख्न पाइँदैन,” प्रजिअ पन्थले हिमालखबरसँग भने, “त्यो सालिक हटाइन्छ ।”