थप समाचारबिहिबार, १६ भाद्र , २०७३

कागजका किताबको जमाना सकिएला ?

हिमालखबर

किताब मानिसको सबैभन्दा असल मित्र हुन्छ । जीवनमा धेरै नाता–सम्बन्धहरु छुट्दै जान्छन् तर किताबसँगको सम्बन्ध कायमै रहन्छ । 

किताब तपाईका दुख, खुशी र एक्लोपनामा साथी भइदिन्छ । तर बदलिंदो जमानासँगै हाम्रो यो साथीको रंगरुप पनि बदलिंदो छ ।

एक जमाना थियो किताब हात लागेपछि हामी त्यसको सुवास महशुस गथ्र्यौं । किताब हुनुको अनुभूति हुन्थ्यो ।

तर अब कम्प्यूटरमा एक क्लिकबाट धेरै किताब उपलब्ध हुन्छन्, ई–बुक्सको जमाना आइसकेको छ ।

विस्तारै किताब आलमारीबाट निक्लेर कम्प्यूटरको डिभाइसमा स्टोर हुन थालेका छन् । स्मार्टफोन, आइप्याड, किन्डल, ल्यापटपमा चाहेको बेला किताब पढ्न सकिन्छ । ई–लाइब्रेरी समेत बनिसके ।

यस्तो देख्दा शायद घरमा ‘बुक शेल्फ’ राख्ने जमाना गयो जस्तो लाग्छ । तर, किताबका शौकिन र प्रकाशकलाई भने यस्ता कुराको वास्ता छैन ।

यो दशकको अन्त्यसम्ममा कागजका किताबलाई डिजिटल किताबले पूरै विस्थापित गरिसक्छ भन्ने अनुमान गरिए पनि अहिलेसम्म त्यस्तो संकेत नआएकोे उनीहरु बताउँछन् ।

पछिल्ला केही वर्षहरुदेखि घट्दो क्रममा रहेको बुकस्टोरबाट किताब किन्नेहरुको संख्या यस वर्ष बढेको छ । गत वर्ष ई–बुक विक्रीमा ह्रास आयो– संसारमै पहिलो पटक ।

किताबको बदलिंदो स्वरुपले पलाएको चिन्ता नयाँ कुरा भने होइन । यो हजारौं वर्षदेखि चलिरहेको छ । प्राचीन रोममा मूर्ति, घर र चिहानमा ठूला अक्षरमा सन्देश गढिन्थे । पछि यस्ता सन्देशलाई काठमा लेखेर इतिहास, कला र दर्शन जस्ता भागमा विभाजित गर्दै लाइब्रेरीमा सुरक्षित राख्न शुरु गरियो ।

तर, त्यसबेलाका किताब अचेलकाजस्ता आकारका हुँदैनथे । ती मिस्रमा बनाइने कागज जस्तै लपेटिने प्यापाइरसका लठ्ठामा लेखिन्थे । विशेष प्रकारका रुखको बोक्राबाट बनाइने प्यापाइरसको लम्बाई साढे चार मिटरदेखि १६ मिटरसम्म हुन्थ्यो ।

लामा रोलमा लेख्न र पढ्न दुबै सहज थिएन । एक जना मानिस स्क्रोल पढदै जान्थ्यो भने अर्कोले त्यसलाई लपेट्दै स्याहार्नुपथ्र्यो । प्यापाइरसका लठ्ठा सुरक्षित राख्नु पनि सजिलो थिएन ।

संसारले पहिलो किताब पहिलो शताब्दीको सेरोफेरोमा पायो । त्यो किताब प्यापाइरसमा केही सुधार गरेर काठकै गाता हालिएको किताबको स्वरुप थियो । जसमा प्यापराईसलाई टुक्राएर सानो पारिएको थियो ।

रोममा यसलाई कोडेक्स भनिन्थ्यो । यसको उल्लेख त्यसबेलाका लेखक मार्शलका किस्साहरुमा पाइन्छ । जसले आफ्ना किताबको विशेषता उल्लेख गर्दै भनेका छन्,‘यसलाई तपाइँ कतै पनि लैजान सक्नुहुन्छ, आफ्नो यात्रामा साथी बनाउन सक्नुहुन्छ ।’

त्यसपछि प्यापाइरसको स्क्रोललाई छालाका पन्ना (पेज)ले विस्थापित गर्‍योे । यसलाई पार्चमेन्ट भनिन्थ्यो । यि पार्चमेन्ट निकै चिल्ला हुन्थे र लेख्न सजिलो हुन्थ्यो । यद्यपी यो पहिलो पटक कसले कहिले बनायो भन्ने थाहा छैन ।

किताबको शौकिनहरुका लागि छालाका पार्चमेन्टको विकास ठूलो कुरा थियो । टिकाउ, हलुका र पढ्न लेख्न सजिलो हुने पार्चमेन्टको विकासले गर्दा लामालामा स्क्रोलबाट छुटकारा मिल्यो ।

विस्तारै किताब सुरक्षित राख्न त्यसमाथि गाता हाल्ने काम शुरु भयो ।पढ्न सजिलोका लागि पेज नम्बर राख्ने चलन शुरु भयो ।

किताबको संसारमा नयाँ नयाँ प्रयोग भइरहेका थिए तर रोम र त्यस वरपरका मानिसहरु कोडेक्सको विशेषतालाई लिएर आपसमा विभाजित थिए । रोममा ठूलो संख्यामा रहेका यहुदीहरु स्क्रोललाई नै उत्तम मान्थे ।

इसाको छैटौं शताब्दीसम्म आइपुग्दा रोमन साम्राज्य पतनको अन्तिम अवस्थामा थियो भने यहुदीको संख्या पनि निकै कम भइसकेको थियो । उनीहरुभन्दा इसाईको जनसंख्या निकै बढेको थियोे ।

इसाईहरुले कोडेक्स झन मन पराए । इसाई धर्मको विस्तारसँगै कोडेक्सको चलन पनि बढ्यो । प्यापाइरसका स्क्रोल बन्द भइसकेका थिए ।

किताबले आफनो उत्पत्तिदेखि आजसम्म धेरै युग देख्यो । एक युगबाट निक्लेर अर्को युगमा पुग्दा तमाम् चुनौतिको सामना गर्नुपर्‍यो ।

अब २१ औं शताब्दीमा ई–बुक्सले पेपर बुक्सको ठाउँ लिनेछ अथवा आफ्नो अलग्गै पहिचान बनाउने छ, भन्न गाह्रो छ ।

पेपर बुक्सको भविष्य प्रकाशक र पाठकले नै तय गर्लान् ।

कीथ हस्टन, बीबीसी कल्चरबाट साभार तथा अनुदित 

प्रतिकृया दिनुहोस