सगरमाथामा अक्सिजन चोरको बिगबिगी
सगरमाथामा दिनानुदिन अक्सिजन चोरीका घटना वृद्धि हुन थालेका छन् ।
विदेशी पर्वतारोही र शेर्पाहरुले शिविरमा अक्सिजनका सिलिन्डर हराउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
जटिल मौसम, हिमाल चढ्न र ओर्लन समय लाग्ने भएकाले अक्सिजनका सिलिन्डर हराउँदा ज्यान नै जोखिममा पर्न सक्ने उनीहरुको चिन्ता छ “यो विषय गम्भीर बनिरहेको छ, यस पटक पनि बारम्बार सिलिन्डर चोरिएको घटना मैले सुनें” हालै सगरमाथा आरोहण गरेर फर्किएका पथ प्रदर्शक छिरिङ तेञ्जिङ शेर्पाले बताए ।
पथ प्रदर्शककाअनुसार आरोहीहरुले सगरमाथाको चुचुरोमा पुग्न र त्यहाँबाट फर्कन औसतमा सात सिलिन्डरसम्म अक्सिजनको खपत गर्ने गर्छन् । आरोहीले श्वासप्रश्वासका लागि त्यसलाई फरक-फरक परिमाणमा खपत गर्छन् र एकदमै उच्चदरमा प्रयोग गर्दा एउटा सिलिन्डर पाँच घन्टासम्म प्रयोग गर्न सकिने पथप्रदर्शक बताउँछन् । माथिल्ला शिविरबाट चोरिएका सिलिन्डरलाई आधार शिविरमा ल्याएर बेच्ने गरिएको पथप्रदर्शक बताउँछन् ।
आरोही छिरिङ शेर्पा भन्छन् “समस्या बढ्दै गएकोले यसलाई सरकारी निकायबाटै ध्यान दिन जरुरी छ ।” रासस