लामाबगरमा पहिरो, दुईको मृत्यु, पाँच वेपत्ता
दोलखाको लामाबगर–४ छ्योत्छ्योत्मा पहिरोले चार घर बगाउँदा दुई जनाको मृत्यु भएको र पाँचजना हराइरहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिएका छन् ।
हराइरहेका सातमध्ये हालसम्म दुईजनाको शव पहिरोभित्रबाट निकालिएको छ । भेटिएका एकको शव २० वर्षीय जोतुले तामाङको रहेको र अर्कोको पहिचान हुन सकेको छैन ।
पहिरोले स्थानीयवासीको घर बगाउँदा भएका सबै सम्पत्ति नष्ट भएको सशस्त्र प्रहरी बल लामाबगरले बताएको छ । गएराति अविरल परेको वर्षाका कारण करिब १०/११ बजे पहिरो झर्दा स्थानीयवासीलाई उद्धार गर्न समस्या परेको थियो ।
पहिरोबाट ५३ वर्षीय चिनियाँ नागरिक चि पनि घाइते भएका छन् । उनको खुट्टा भाँचिएको छ भने एक स्थानीयवासीलाई पनि घाइते अवस्थामा प्रहरीले उद्धार गरेको छ ।
घाइतेलाई उपचार गर्न लैजान हेलिकप्टर मगाइएको र नआउँदा समस्या भएको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक खेमबहादुर थापामगरले बताए ।
अहिले पहिरोका कारण सिङगटी तामाकोसी क्षेत्रको बाटो अवरुद्ध भएको छ । रासस