झापामा चुनावी प्रचारप्रसार तीव्र
झापाका स्थानीय तहमा विभिन्न दलबाट उमेदवार बनेकाहरु बाजागाजा सहित घर दैलो र कोणसभा गर्दै निर्वाचन प्रचार प्रसारलाई तीव्र बनाएका छन् ।
कतिपय उमेदवार र दलका कार्यकर्ताहरु नाचगान गर्दै मतदाताका घरघरमा पुगिरहेका छन् । उनीहरुको गीतमा विकासकै आश्वासन सुनिन्छन् ।
घर, टोलका चोक र मुख्य बजारहरुमा पार्टीका झण्डा र ब्यानर टाँग्ने होड नै चलेको छ ।
दमक बहुमुखी क्याम्पसका प्राध्यापक सुमन नेपाल स्थानीय तहको निर्वाचन जनताको विकास आवश्यकतासँग जोडिएको राजनीतिक अनुष्ठान भएकोले यो उत्वसवपूर्ण हुँदै गएकोे ठान्छन् । “यो निर्वाचन पर्व जत्तिकै भएको छ,” उनले भने ।
शहरमा गुडने सवैजसो रिक्सा र ट्याक्सीमा उम्मेदवारले हात जोडेर मत माग्दै गरेका तस्वीरसहितका प्रचारसामाग्री टाँसिएका छन् ।
अहिलेसम्म प्रतिस्पर्धी दलहरु र तीनका कार्यकर्ताबीच कटुता देखिएको छैन । कुनैकुनै निजी घरमा एउटैमा दुईदलका झण्डा राखिएका छन् ।
मत माग्दै घरदैलो चहारीरहेका कतिपय उम्मेदवारहरु दोहोेरिएका छन् । २०४९ र २०५४ सालका स्थानीय निर्वाचनमा दमक नगरको वडाध्यक्ष निर्वाचित भएका राप्रपाका राम थापा यसपालि मेयर पदको आकांक्षी बनेर नगरका मतदाताकहाँ पुगिरहेका छन् । करिव एक महिना अघिदेखि घरदैलो गइरहेका उनले आमसभा भने गरेका छैनन् ।
एमाले अध्यक्ष केपी ओलीको गृह नगर दमकमा एमालेले भने मेयर पदको उम्मेदवारको रुपमा दोस्रो पटक रोमनाथ ओलीलाई उठाउने निधो गरेको छ ।
२०५४ सालमा १९ वटा वडामध्ये मेयर, उपमेयर सहित दशवटा वडामा एमाले, सातवटा वडामा राप्रपा र दुईवटामा कांग्रेसले जितेको दमक नगरमा यसपाली १० वटा मात्र वडा छन् ।
२०४९ र २०५४ सालका स्थानीय निकाय निर्वाचनमा बहुमतसाथ एमालेको बर्चस्व देखिएको नगरमा स्वभाविक जित हुने एमालेको दाबी रहेको छ ।
ओलीको गृह नगरमा स्थानीय तहको नयाँ प्रतिस्पर्धी एमाओवादी र राप्रपाले सामान्य चुनौती दिन सक्छन् । तर एमालेभित्र विवादका कारण उपमेयर र कतिपय वडाका उम्मेदवारहरुको नाम भने सार्वजनिक भएको छैन ।
दमकमा मेयर पदका अर्का एमाले आकांक्षी हालका नगर इन्चार्ज अम्बिका खनालले पार्टीभित्र कार्यकर्ताको सही मूल्यांकन गर्ने परिपाटी कमजोर भएको भन्दै असन्तोष प्रकट गरेका छन् ।
२० बर्षअघिको स्थानीय निकाय निर्वाचनमा करिव ६० प्रतिशत सिटमा एमालेले जितेको थियो । मेयर/अध्यक्षदेखि वडातहसम्मका उम्मेदवार तय भइनसकेका कारण कांग्रेस र एमालेले भने अभियानका रुपमा मतदाताका घरघरमा गइरहेका छैनन् ।
आश्वासन विकासको
अनिरुद्ध लुईटेल (७१) पुर्वी मोरङको मिक्लाजुङ गाँउपालिका ३ मा ५० बर्षदेखि बसोबास गरिरहेका छन् । पञ्चायत देखि अहिलेसम्मका एकदर्जन जति चुनावमा मतदान गरेका अनिरुद्धको घरमा १२ जेठ बिहान शुरुमा एमालेकी गाँउपालिका उपाध्यक्ष सरला राई मत माग्दै आइन् ।
दिउँसो माओवादी केन्द्रका गाँउपालिका अध्यक्ष उम्मेदवार प्रेम मिभक आए । उम्मेदवार टुंगो लागिनसकेका कारण कांग्रेसका भने आएका छैनन् ।
अनिरुद्धले भने, “आउने जतिले घर अगाडिको बाटो पिच गरिदिन्छु, कुलोमा बाह्रैमास पानी ल्याउँछु, अस्पताल बनाउँछु, खानेपानीको धारो घरघरै ल्याउँछु भन्ने गरेका छन् ।”
यस्ता विकासे आश्वासन करिव चालिस बर्षदेखि सुन्दै भोट हाल्दै आएका लुईटेलका छिमेकी धनबहादुर राई पनि आफूले अहिलेसम्म यस्तै आश्वासन मात्रै सुन्दै आएको बताउँछन् । मोटरबाटो, पुल, स्कुल, अस्पताल, खानेपानी जस्ता विकास पूर्वाधार खडा गर्ने आश्वासन दिँदै उम्मेदवारहरु आउने गरेको उनी बताउँछन् ।
२०५९ सालपछि कर्मचारीको भरमा चलेको स्थानीय निकायले गाउँलेलाई प्रशासनिक सुविधा मात्र दिएको देखिन्छ । बितेको १५ बर्षमा साविकको टाँडी गाविस (हालको मिक्लाजुङ)मा भौतिक पूर्वाधारमा खासै काम भएन ।
गाउँपालिकाको धेरैजसो ठाउँमा एम्बुलेन्स र दमकल पुग्ने बाटो समेत बनेको छैन । सामान्य विरामी हुँदा समेत करिव ७० किलोमिटर टाढाको विराटनगर जानु परिरहेको हुन्छ ।
गोपाल गडतौला, झापा