बस दुर्घटनामा एकको मृत्यु, २४ घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–१ स्थित महादेवा चोकमा आज बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनाका साथै २४ यात्रु घाइते भएका छन् ।
विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ८०६२ नंको बसलाई कटारीबाट नारायणघाट जाँदै गरेको ना १ ख ५०६७ नंको बसले उछिन्ने क्रममा ठक्कर दिँदा ना १ ख ५०६७ नंको बसका सहयोगी कटारी नगरपालिका–३ निवासी ३७ वर्षीय निलकमल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ । बसमा सवार अन्य २४ यात्रु घाइते भएका छन् । घाइतेको मिर्चैयास्थित मङ्गलम रेखा नर्सिङ होममा उपचार भइरहेकोे छ । रासस