थप समाचारबुधबार, १५ भाद्र , २०७३

जबर्जस्ती विवाह गराउनेविरुद्ध मुद्दा

हिमालखबर


उमेर नपुगेकी किशोरीको विवाह गराएको आरोपमा रोल्पा जिल्ला अदालतमा तीनजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । 

गैरीगाउँ–८ की सुनिता परियारको सोही गाउँकै रमेश परियारसँग विवाह गराउने दुईजना लमी करेटी–३ का लक्ष्मण विक, गैरीगाउँका दीपक परियार र दुलहा रमेशविरुद्ध प्रहरीले आज बालविवाहअन्तर्गत मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

गत २९ साउनमा सुनिता र रमेशबीच सुनिताको मुञ्जुरीबिनै विवाह भई भदौ ११ सम्म उनीहरुसँगै बसेको र परिवारका सदस्यहरु नभएको मौका पारी सुनिता घरबाट भागेर प्रहरीमा उजुरी दिन आएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार केटीको उमेर १७ र केटाको उमेर २४ हो । 

हाल दुईजना लमी र दुलहालाई जिल्ला अदालत रोल्पाबाट म्याद थप गरी थुनामा राखिएको छ भने सुनितालाई प्रहरीकै संरक्षणमा सुरक्षित स्थानमा राखिएको छ । बाल विवाहमा संलग्न तीनैजनालाई मुलुकी ऐनअनुसार कारबाही हुने रोल्पाका प्रहरी नाउब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । रासस 

 

प्रतिकृया दिनुहोस